PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सिन्धुलीमा थपिए मतदाता, मतदान केन्द्र भने घट्यो



रासस

सिन्धुलीमा थपिए मतदाता, मतदान केन्द्र भने घट्यो

कमलामाई : आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिन्धुलीमा दुई हजार ३३ नयाँ मतदाता थपिएका छन्। सरकारले आगामी मङ्सिर ४ मा निर्वाचन गर्ने निर्णय गरेपछि निर्वाचन कार्यालयले गत साउन २० देखि मतदाता नामावली सङ्कलन स्थगन गरेको छ।

स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगन भएको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य असार १ देखि सुरु भएको थियो। सोही अवधिमा उक्त मतदाता थपिएका हुन्। गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम रहेका मतदातामा पाँच सय ६६ महिला र एक हजार चार सय ६८ पुरुष मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय प्रमुख पुष्पा झाले जानकारी दिइन्।

यससँगै जिल्लामा कुल मतदाता सङ्ख्या दुई लाख आठ हजार तीन सय ६९ पुगेको छ। स्थानीय तह निर्वाचनमा कुल मतदाताको सङ्ख्या दुई लाख छ हजार तीन सय ३६ थियो। निर्वाचन आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएको उनले बताइन्।

कार्यालय प्रमुख झाका अनुसार गत असार १ देखि साउन १९ सम्म गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानमा बाहिरी जिल्लाबाट आएका र स्थायी बासिन्दा गरी चार हजार दुई सय ३३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। निर्वाचनमा कोही पनि नछुट्ने गरी आफ्नो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न निर्वाचन कार्यालयले सबैलाई आग्रह गरेको थियो।

घट्यो मतदान केन्द्र

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लामा कायम रहेका मतदान केन्द्र भने घटेको छ। मतदानस्थल भने बढेको निर्वाचन कार्यालय प्रमुख झाले बताइन्।

'प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर चारवटा मतदान केन्द्र र सातवटा मतदानस्थल थप्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको थियो। निर्वाचन आयोगले यसअघि कायम रहेका दुई सय ६८ मतदान केन्द्रमा एउटा घटाएर दुई सय ६७ वटा र एक सय ४४ मतदानस्थलमा सातवटा थपेर एक सय ५१ कायम गरी पठाएको छ', उनले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell