PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउन प्रशिक्षण



पहिलोपोस्ट

आनीहरूलाई सामाजिक गतिविधिमा सरिक गराउन प्रशिक्षण

काठमाडौं : बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले आनी (भिक्षुणी) हरूलाई सामाजिक गतिविधिमा प्रेरित गराउने उद्देश्यका साथ थालेको दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

बिहीवारबाट स्वयम्भूस्थित होटेल च्वाइसमा भएको गोष्ठीको समापनमा प्रशिक्षार्थीहरूबाट दुई दिनमा सिकेका ज्ञानहरू साटासाट गरेका थिए।

सहभागीमध्येका आनी तेन्जिङ छेतेनले उत्प्रेरणा पाएकोले आत्मविश्वास बढेको बताइन्।

यसै गरी ५१ वर्षीया आनी साम्तेनडोल्माले परिवर्तन आधारशिलाबारे बुझ्न पाएको बताउँदै उमेर हदले ज्ञान शिक्षालाई नछेकिने बताइन्।

यस्तै आचार्य पेमारिन्छेन पाल्मो लामाले महिलालाई सशक्तीकरण गराउने मात्रै नभई पारम्परिक शिक्षाबाट विकसित गर्दै आधुनिक शिक्षामा दीक्षित गर्नुपर्ने बताइन्। ‘सामाजिक उत्तरदायित्व आफ्नो क्षमता अनुसार प्रायः आनीहरु सक्रिय सहभागी हुँदै आएको छ‚' उनीले थपिन्।

कार्यक्रममा आनी दकिला स्याङतानले समितिको संयोजनमा गुम्बाहरूकै आन्तरिक स्रोतमा विषयगत अन्तर छलफल चलाउनुपर्ने सुझाइन्।

गोष्ठीमा विभिन्न गुम्बा विहारबाट ६५ जना आनीहरुको सहभागिता रहेको थियो।

समितिका कार्यकारी निर्देशक होम दोङले बौद्ध दर्शनलाई विकास गर्न आनीहरुसँग रहेको ज्ञानलाई जनमानसमा पुर्‍याउने उद्देश्यले गरिएको प्रशिक्षण प्रभावकारी भएको बताएका थिए।

‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा पुर्‍याउन गुम्बा विकास समितिले पुलको काम गरेको छ‚' उनले भने।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल)ले गुम्बा विहारमा अध्ययनरत आनीहरुको ज्ञानलाई समाजमा ल्याउन गरिएको प्रशिक्षण प्रभावकारी भएको बताए।

‘दुई दिनको प्रशिक्षणबाट व्यवहारिक ज्ञान पाएको महसुस गरेको छु’‚ उनले भने‚ ‘ज्ञान र साधनाले परिपूर्ण भएको आनीहरुको ज्ञानलाई अहिलेको सामाजिक परिवेशमा पुर्‍याउन समितिले पुलको काम गरेको हो।’

अध्यक्ष फुपू छेम्बेले गुम्बाहरूको प्रमुखहरूसँग छलफल गरेर गुम्बाहरू बिचमा अन्तरसम्बन्ध बढाउँदै पारस्परिक रूपमा अन्तरसंवाद गराउने प्रयासमा समिति लाग्ने उद्घोष गरे।

यस्तै कार्यक्रममा समितिको योजना शाखाकी अधिकृत सन्जु योङ्याले विगतको तुलनामा अहिले भइरहेका विविध कार्यक्रमको प्रभावले गुम्बाहरु सक्रिय रहेको बताइन्।

कार्यक्रमको पहिलो दिन कवि तथा सन्चारकर्मी रुपेश श्रेष्ठ र आनी छोइङ डोल्माले प्रशिक्षण दिएका थिए। त्यस्तै दोस्रो दिन समीक्षक र निबन्धकार र त्रिवि अङ्ग्रेजी विभागका उपप्राध्यापक कुमारी लामा र उत्प्रेरक वक्ता विकासदेव योन्जनबाट प्रशिक्षण दिएका थिए। कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजन लक्ष्मी रुम्बाले गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell