PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चार वर्षपछि अदितीले ‘बाबरी’ मार्फत कमब्याक गर्नुको कारण यस्तो



लक्ष्मी बलायर

चार वर्षपछि अदितीले ‘बाबरी’ मार्फत कमब्याक गर्नुको कारण यस्तो

काठमाडौं : चार वर्ष भयो अभिनेत्री अदिती बुढाथोकीलाई ठूलो पर्दामा नदेखेको। फिल्म ‘कृ’ मार्फत अदितीले फिल्म क्षेत्रमा डेब्यू गरेकी थिइन्। जोडी थिए अनमोल केसी। पहिलो फिल्ममै अनमोनसँग स्क्रिन सेयर गरेसँगै फिल्म हिट हुने आशा गरिएको थियो। तर, फिल्म व्यवसायिक तथा समीक्षात्मक हिसाबले सफल हुन सकेन।

पहिलो फिल्म नै असफल भएपछि अदिती नेपाली फिल्मबाट टाढा भइन्। भलै मुम्बईमा बसेर उनले केही म्युजिक भिडियोमा मोडलिङ र अभिनय गरेर चर्चा बटुलिन्। तिनै अदिती आफ्नै होम प्रोडक्सनमा बनेको फिल्म 'बाबरी'मार्फत ठूलो पर्दामा फर्किँदैछिन्। बाबरी असोज १४ गतेदेखि प्रदर्शन हुँदैछ। बाबरीसँग सम्बन्धित रहेर तिनै अदितीसँग पहिलोपोस्टकी संवाददाता लक्ष्मी बलायरले गरेको कुराकानीको सम्पादित अंश :

चार वर्षपछि ठूलो पर्दामा फर्किदै हुनुहुन्छ। रिलिज मिति नजिकिँदा कत्तिको उत्साहित हुनुहुन्छ?

अहिले फिल्मको प्रमोसनमै व्यस्त छु। प्रमोसनको समयमा निकै दौडधुप अनि रमाइलो हुँदो रहेछ। तर, रिलिज डेट नजिक आउँदा डर पनि हुँदो रहेछ। आफ्नै होम प्रोडक्सनबाट बनेको फिल्म त्यसमाथि लामो समयपछिको कमब्याक। लामो समयपछिको पर्दामा आउँदा दर्शकहरुको पछि छुट्टै आशा हुन्छ। त्यो आशालाई मैले कत्तिको पुरा गर्न सक्छु भन्ने तनाव भइरहेको छ।

‘कृ’मा काम गरेपछि नेपाली फिल्म क्षेत्रबाट हराउनुभयो नि, किन?

फिल्म ‘कृ’ काम गरेसँगै मलाई धेरै फिल्महरूको अफरहरू आएको थियो। तर, ‘कृ’ गरेको पाँच/छ महिनापछि हामीले आफ्नै प्रोडक्सनबाट फिल्म बनाउने योजना गर्‍यौं। त्यही क्रममा सुरेन्द्र दाईले हामीलाई दुइ/तीनवटा स्क्रिप्टहरू देखाउनु भयो। त्यसमध्ये ‘बाबरी’ मा काम गर्ने फिक्स भएको हो। तर यही फिल्मको प्रक्रियामै लाग्दा ठ्याक्कै कोरोना आइदियो। जसकारण केही ढिला भएको हो।

‘कृ’ फ्लप भएरै हराउनु भएको भन्ने नि छ नि?

यस्तो चाँहि होइन। कृ पछि धेरै अफरहरू आएको थियो। मेरो इमेलमै स्क्रिप्टहरु आउन्थ्यो। एक/दुइवटा फिल्मको स्क्रिप्ट हेरेको पनि थिएँ। तर म अरु ब्यानरसँग काम गर्न कन्फर्म थिइनँ।

किनकी, पहिलो फिल्म गर्दा नै अलिकति गाह्रो लागेको थियो। ‘कृ’ छायाङ्कन गर्न धेरै समय लगाएको थियो। एउटा सुट गरेपछि लामो समयपछि काम हुन्थ्यो। यस्तो अव्यावसायिक काम देखेर मलाई दिक्क लागेको थियो। व्यक्तिगत रुपमै म कुनै पनि अरुको प्रोडक्सन हाउसमा सजिलै काम गर्न सक्दिनँ कि भन्ने सोच आएको थियो।

बिचमा मुम्बईमा पनि म्युजिक भिडियोमा काम गरे। एकचोटी वेब सिरिज साइन गरेको थिए। तर एक महिनापछि स्क्रिप्ट नै परिवर्तन भयो। जसमा मेरो भूमिका सानो र चित्तबुझ्दो नहुँदा काम गरिनँ। त्यसकारण पनि कमब्याकमा केही समय ढिला भएको हो।

त्यसो भए आगामी दिनमा बाहिरको ब्यानरसँग काम गर्नुहुन्न?

किन नगर्नु! चार वर्षको अन्तरालमा नेपाली फिल्म क्षेत्रमा निकै परिवर्तन आइसकेको छ। राम्रा र नयाँ फिल्ममेकर आउनु भएको छ। अहिले राम्रो सुधार भइरहेको छ।

साथै मेरो पनि धेरैसँग चिनजान भइसक्यो। कृ मा काम गर्दा खासै ज्ञान पनि थिएन। अहिले सबैलाई चिन्नुका साथै आइडिया पनि छ। जसले म सबैसँग काम गर्न राजी छु। तर, पहिलो प्राथमिकता फिल्मको कथा र स्क्रिप्ट हुनेछ।

पहिले र अहिले काममा के फरक पाउनुभयो?

मोडलिङ गरे पनि पहिले अभिनयमा खासै रुचि थिएन। कृ मा काम गर्नअघि मैले मुम्बईमा दुई हप्ताको वर्कसप लिएको थिए। अनमोलबाहेक फिल्मका अरु कलाकारसँग वर्कसपमा बस्न पाइनँ। ज्ञान पनि कम त्यसमाथि तयारी खासै भएन। आफू विपरित गाउँले केटीको भूमिकामा काम गर्दा निकै गाह्रो भएको थियो।

कृ मा काम गर्दा मसँग जिरो ज्ञान थियो भने अहिले १० प्रतिशत ज्ञान छ जस्तो लाग्छ। ‘बाबरी’ मा काम गर्दा पुरै टिमले अनुप बराल सरसँग अभिनय क्लास लियौँ। वर्कसपमा पनि सबै कलाकारहरूले भेटेर तयारी गर्न पायौँ।

कमब्याकको लागि फिल्म ‘बाबरी’ नै छान्नुको कारण?

बाबरीको केन्द्रीय पात्र नै एउटा केटी हो। बाबरी नामको पात्र वरिपरि नै यो फिल्म घुम्छ। केन्द्रीय भूमिका त्यसमाथि बलियो चरित्र। हुनत दुबै धिरजहरूको पनि मुख्य भूमिका नै छ। तर केटी सेन्टरमा भएकोले यो क्यारेक्टर मन परेको हो। लबस्टोरी भएता पनि बाबरी केही फरक छ। जुन सस्पेन्स थाहा पाउन फिल्म नै हेर्नुपर्छ।

होम प्रोडक्सनबाट फिल्म बनाउने तपाईकै योजना होला, हैन?

होइन नि। मैले आमाबुवालाई फिल्म बनाऔ भनेको कहिल्यै भनिनँ। उहाँहरूले आफै होम प्रोडक्सन खोल्ने योजना बनाउनु भएको हो। मलाई पहिलो फिल्मको अफर पनि उहाँहरूमार्फत नै आएको थियो। किनकी मलाई हिरोइन बनाउने उहाँहरूको सपना हो।

सुरुमा उहाँहरूले फोनमा आफै फिल्म बनाउने भन्दा जिस्काएजस्तो लागेको थियो। फिल्मक्षेत्रमा काम गर्न गाह्रो हुन्छ भनेर हुँदैन भनेकी थिए। तर उहाँहरूले आँट गर्नुभयो। त्यसपछि यो काम सम्भव भएको हो। मैले नगरेपनि उहाँहरूले अरूलाई लिएर पनि होम प्रोडक्सनबाट फिल्म बनाउनुहुन्छ।

अनि ‘बाबरी’ क्यारेक्टरमा फिट हुन कत्तिको गाह्रो भयो नि?

बाबरी र मेरो चरित्रमा निकै भिन्नता छ। बाबरी कसैले भनेको नटेर्ने, बोल्न नडराउने र कुट्नसमेत तयार हुने पात्र हो। जो निकै बलियो क्यारेक्टर हो। तर, म केही अन्तर्मुखी स्वभावकी छु।

त्यसमाथि 'ड्रङ्क सिन'हरू ज्यादै। म रियलमा रक्सी पिउँदिनँ। छायाङ्कनमा रक्सीको सट्टा कोक र कालो चिया खाए। तर, रक्सी खाएको मानिसहरूले कस्तो व्यवहार गर्छन् भन्ने थाहा थिएन। तर अनुप सरले रक्सी खाने मान्छेहरुलाई हेर्न भनेपछि अवलोकन गरे। ड्रङ्कर बन्न निकै टेक लिनुका साथै मिहिनेत गर्नुपरेको थियो।

‘बाबरी’ दर्शकले मन पराउनुहुन्छ भन्ने कत्तिको विश्वास छ?

दर्शकप्रति मेरो एकदमै आशा छ। जुन हिसाबले उहाँहरूले हाम्रो गीत र ट्रेलरलाई माया दिइरहनु भएको छ। उहाँहरुको प्रतिक्रियाले एकदमै खुसी लाग्छ। बाबरी फिल्मबाट कमेडी र रोमान्स दुबै छ। नेपालीपन र रमाइलोपन भएको फिल्मलाई दर्शकले मन पराउनु हुन्छ भने आशा छ। रमाइलो फिल्म बनेको छ। फेस्टिभ मुडमा हेर्ने खालको फिल्म बनेको छ। 

पछिल्लो समय नारी केन्द्रित फिल्महरू आइरहेका छन् यसलाई कसरी हेर्नुहुन्छ?

राधा, चिसो मान्छे जस्ता महिला केन्द्रित फिल्महरू आउनु निकै राम्रो कुरा हो। किनकी हाम्रो फिल्महरू धेरै हिरोमै केन्द्रित हुन्छन्। महिला कलाकारहरूले मिहिनेत र राम्रो प्रस्तुति दिएको देख्दा निकै खुसी लागिरहेको छ। कलाकार भइसकेपछि नयाँ नयाँ पात्रमा काम गरेर चुनौती लिनुपर्छ। मलाई पनि आगामी दिनमा नयाँ नयाँ पात्रमा काम गर्न मन छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell