PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

महंगो दशैं : बजारमा खाने तेलबाहेक सबै खाद्यान्न र मसलाहरुमा मूल्यवृद्धि, केमा कति बढ्यो भाउ?



सरला सुवेदी

महंगो दशैं : बजारमा खाने तेलबाहेक सबै खाद्यान्न र मसलाहरुमा मूल्यवृद्धि, केमा कति बढ्यो भाउ?

काठमाडौं : भोलिबाट दशैं सुरु हुँदैछ। संघारमै रहेको चाडको बेला बजारमा खाद्यान्नको मूल्य क्रमिक उकालो लाग्दै गएको छ। तुलनात्मकरूपमा खाने तेल सामान्य सस्तिए पनि चामलदेखि मरमसलासम्मको भाउ बढेको छ।

ब्रोइलर कुखुराको भाउ घटेको छैन। खसीको मासुमा खुद्रा मूल्य मनपरी छ। चामल महँगियो, दाल पनि महँगिएको छ। हरेक वर्ष दशैंमा उपत्यकादेखि बाहिरका जिल्लाहरुमा खाद्यान्नको खपत अन्य समयभन्दा बढ्छ। चाडपर्वमा परिवार भेला भएर विभिन्न परिकार खाने हुनाले खाद्यान्नको माग बढ्ने गरेको छ। 

बजारमा चामल, दाल, गेडागुडी, गहुँको पिठो, मैदा, जिरा-धनियाँ र प्याकेटमा आउने मिट र गरम मसलाको मूल्य बढेको व्यवसायीहरुले नै बताएका छन्।

पछिल्लो समय बजारमा खाद्यान्नको मूल्य बढ्दै जाँदा तुलनात्मकरूपमा चामल बढी महँगिएको नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले बताए। अहिले जिरा मसिनो चामल केजीमा ८० देखि ९० रुपैयाँ पर्न थालेको छ। 'यतिबेला चामलको भाउ बढिहाल्नुपर्ने अवस्था होइन। तर, आयात महँगो पर्ने भयो भन्नेबितिकै नेपालमा मूल्य बढिहाल्छ,' उनले भने।

खाद्यवस्तुको मूल्य खुद्रा व्यवसायीले बढाएको नभइ आयातकर्ता र डिलर्सहरुबाट मूल्य बढेर आएको उनले दाबी गरे। 'भाउ बढ्नु जायज हो की होइन भनेर सरकारले बजार अनुगमन गरे हुन्छ। नगर्दा उपभोक्तालाई मूल्यवृद्धिमा व्यापारीले आफूखुसी गरेका हुन् भन्ने लाग्छ,' महासचिव तुलाधरले भने।  

कसैकसैले पुरानो स्टक नयाँ मूल्यमा बिक्री गरेको हुन सक्ने उनले बताए। 'यसमा सरकारको ध्यानाकर्षण नभएको देखिएको छ। होइन भने नयाँ माल आयात भएपछि मात्र मूल्य बढ्नु स्वाभाविक हो,' उनले भने।

कतिपय खुद्रा व्यवसायी अहिले बजारमा ठुला व्यापारीहरुले मनपरी मूल्य बढाउन थालेको आरोप लगाउँछन्। साथै चुनाव आउनु अघि हरेक पटक बजारमा खाद्यान्नको मूल्य बढ्ने उनीहरुको अनुभव छ। केही खाद्यवस्तु भारतबाट बढेर आएको छ। 

भारतले चामल निर्यातमा कडाइ गरेपछि जिरा मसिनो चामल पुरानो मूल्यका तुलनामा बोरामा २ सय रुपैयाँभन्दा बढी पर्न थालेको किराना व्यवसायी कृष्ण भट्टले बताए। उनका अनुसार पछिल्लो ४ महिनामा चामलको बोरामा ५ सय रुपैयाँ बढेको छ। उक्त चामल बोरामा नै २ हजार   देखि २२ सय  रुपैयाँमा पर्न थालेको उनले बताए।

त्यस्तै, अधिकांश लङ ग्रेन चामलको मूल्य प्रतिबोरा २८ सयदेखि ३ हजार रुपैयाँ पुगेको छ। पहिलेभन्दा बोरामा २ सय रुपैयाँ बढेको हो।
बजारमा बढी बिक्री हुने चामल सोना मन्सुली बोरामा न्युनतम एक सय रुपैयाँले बढेको छ। १० केजीको १२ सय ५० पर्ने चामल यतिबेला १३ सय ५० रुपैयाँ पर्न थालेको छ।

सोना मन्सुली चामल स्वदेशी भएकाले यसको मूल्य धेरै नबढेको किराना व्यवसायी भट्टले बताए। चामलसहित दालहरुको मूल्य पनि बढेको पाइएको छ। व्यवसायीहरुका अनुसार दालको मूल्य प्रतिकेजी १० देखि १५ रुपैयाँसम्म बढेको छ। रहर दाल प्रतिकेजी १० रुपैयाँ बढेर १७० बाट १८० रुपैयाँ पुगेको छ। 

मुसुरको दाल प्रतिकेजी १५ रुपैयाँ बढेको छ। उक्त दालको मूल्य प्रतिकेजी १३८ बाट बढेर १५५ रुपैयाँ पुगेको छ। चामल र दालको मूल्य यो भन्दा माथि नजाने व्यवसायी भट्टले बताए। अहिले बजारमा खाद्यान्नको माग धेरै छैन। उनले भने 'पहिले जस्तो बजारमा खपत नभएपछि मूल्य बढ्दै जाने नहोला।' 

त्यसैगरी, दशैंमा मुख्य खाजा मानिने चिउराको मूल्यमा प्रतिकेजी ८ देखि १० रुपैयाँसम्म बढेको छ। यसअघि प्रतिकेजी ६० रुपैयाँमा बिक्री हुँदै आएको तराई ताइचिन चिउरा ७८ रुपैयाँ पुगेको छ। उपभोक्ताले दैनिक भान्सामा मसलाका रूपमा प्रयोग गर्ने जिरा-धनियाँको मूल्य पनि बढेको छ। अन्य समय भन्दा दसैंमा धनियाँ र जिराको खपत धेरै हुन्छ।

व्यवसायीहरुका अनुसार धनियाँ-जिराको मूल्य ६ महिनामा प्रतिकेजी १७० रुपैयाँ बढेर ५२० रुपैयाँ पुगेको छ। पहिले जिरा प्रतिकेजी सरदर ३५० रुपैयाँ थियो। धनियाँको मूल्य ४ सय ग्रामको ७० रुपैयाँबाट बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ। 

साथै,मिट मसला, गरम मसलालगायत प्याकेटमा आउने मसलाहरुको मूल्य बढेर आएको छ। प्याकेटमा १० रुपैयाँसम्म बढेको छ। पहिले प्रतिप्याकेट ५० रुपैयाँ पर्ने मिट मसला अहिले प्रतिप्याकेट ५५ देखि ६० रुपैयाँ पर्छ। गरम मसला ६० बाट ७० रुपैयाँ पुगेको छ। चिनी सुलभ छैन। पाइएका पसलमा पनि मूल्यमा एकरुपता छैन।

सरकारले खाद्यान्नका पसलहरुलाई दिनहुँ मूल्यसूची ग्राहकले देख्ने ठाउँमा राख्न अनिवार्य गरेको छ। तर नियमको पालना गर्नेहरु नगन्य छन्। मूल्यसूची राखेकाहरुले पनि प्रचलित दर उल्लेख नगरी बोर्ड झुण्ड्याउने गरेको देखिएको छ।

सरकारले अनुगमनमा सक्रियता नदेखाउँदा किराना थोक र खुद्रा बिक्रेताले कारोबार गरिरहेको भाउमा कैफियत छ/छैन भनेर प्रश्न उठ्न छाडेको छ। उपभोक्तावादी संस्था पनि यसबारे मौन छन्।  

विभाग भन्छः कारबाही गर्दैछौं

बजारमा दैनिक अनुगमनसँगै कारबाही भइरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। 

'अनुगमनका क्रममा खाद्यान्नको मूल्य बढी लिएको भेटिएको छ,' विभागका प्रवक्ता होमनाथ भट्टराईले भने, 'बढी मूल्य लिएर उपभोक्ता ठग्ने काम गरिरहेका व्यवसयिक फर्महरुलाई विभागले कार्बाही र जरिवाना गरिरहेको छ।' 

बजार अनुगमनका लागि विभागसँग पर्याप्त जनशक्ति नभएको गुनासो उनले गरे। 'कतिपय खाद्यवस्तुको मूल्यवृद्धि  गुणस्तरका आधारमा पनि भएको पाइएको छ। आयातमै बढेर आएकालाई मूल्य किन बढायौ भन्न मिल्दैन,' उनले भने।

अन्तर्राष्ट्रिय बजारको कारणले पनि मूल्य पहिला भन्दा बढेको व्यवसायीहरुले बताएकाले विभागले यसबारे अध्ययन गरिरहेको प्रवक्ता भट्टराईले बताए।

खाने तेलको मूल्य घट्यो 

यसपाली दशैंमा खाने तेलको मूल्य घट्दा उपभोक्ताहरुलाई थप राहत हुने भएको छ। हाल बजारमा खानेतेलको मूल्य कार्टुनमा २ सयभन्दा बढी घटेको व्यवसायीहरुले बताएका छन्। 

जसमा सूर्यमुखी तेलको मूल्य प्रतिकार्टुन २४ सय ५० रुपैयाँ छ। यसअघि उक्त तेलको मूल्य प्रतिकार्टुन २६ सय रुपैयाँभन्दा बढी थियो। भटमासको तेल प्रतिकार्टुन २१ सय ५० रुपैयाँमा आइपुगेको छ।

यसअघि भटमासको तेल प्रतिकार्टुन २४ सय रुपैयाँ थियो। गत वर्ष खानेतेलको मूल्य बढ्दै सूर्यमुखी प्रतिकार्टुन ३४ सय रुपैयाँसम्म पुगेको थियो भने भटमास ३ हजार रुपैयाँमा बिक्री भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell