PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मिठाईको बट्टामा लागुऔषधको तस्करी, कोठा भाडामा लिएर स्टोर



पहिलोपोस्ट

मिठाईको बट्टामा लागुऔषधको तस्करी, कोठा भाडामा लिएर स्टोर

काठमाडौं : लागुऔषध तस्करहरूले विभिन्न तरिका अपनाएर तस्करी गर्ने गरेको खुलेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको अनुसन्धानमा मिठाईको बट्टामा लागुऔषध राखेर तस्करी गरेको खुलेको हो। वीरगंजबाट बसमा काठमाडौंसम्म मिठाईको बट्टामा लागुऔषध ल्याइएको ब्युरोका प्रवक्ता एसपी योगेन्द्र कुमार खड्काले बताए।

‘नयाँ तरिकाबाट मिठाईको बट्टामा लागुऔषध ल्याइरहेको अवस्थामा केही मानिस नियन्त्रणमा लिएका छौँ। मिठाई भन्दै गाडीमा राखेर काठमाडौं पठाउने गरेको पाइयो,’ एसपी खड्काले भने।

ब्युरोको टोलीले लागुऔषध कारोबार गरेको अभियोगमा काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका वडा नम्बर ५ घर भएका ३९ वर्षीय अर्जुन ढकाल, बारा कलैया उपमहानगरपालिका वडा नम्बर ८ घर भएका २१ वर्षीय अजय महतो र सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका घर भएका ४४ वर्षीय रामबहादुर तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो। उनीहरूले वीरगंजबाट ल्याएको लागुऔषध १२ हजार ७ सय ५८ एम्पुल बरामद गरेको छ।

एक महिलाले वीरगंजबाट मिठाई भन्दै न्यु एन्जल कम्पनीको प्रदेश नम्बर ०२-०३-००१ ख ३६२८ नम्बरको भाडाका बसका सहचालकलाई सामान दिएकी थिइन्। सहचालक अजय महतोले ५ सय रुपैयाँ लिएर मिठाइको बट्टा काठमाडौं ल्याएका थिए। यसरी वीरगंजबाट काठमाडौं ल्याएको मिठाइको बट्टा अर्जुन ढकालले रिसिभ गर्छन्।

‘महिलाले सहचालक लाई मिठाइ काठमाडौं लग्दिनु भन्दै ५ सय रुपैयाँ दिएर पठाएको देखिन्छ,’ एसपी खड्काले भने।

ढकालले मिठाईको बट्टा पाएपछि कहिले काहीँ सहचालकलाई ५ सय रुपैयाँ समेत दिने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। तर, यसरी ल्याएको मिठाईको बट्टा भित्र लागुऔषधहरु भएको खुल्छ। सहचालकबाट बट्टा बुझेपछि अर्जुन ललितपुरस्थित बागडोलमा भाडामा लिएको कोठामा राख्ने गरेका थिए। उनी भने चुनिखेलमा बस्दै आएका थिए।

‘लागुऔषध स्टोर गर्नको लागि नै भाडामा कोठा लिएको देखिएको छ। थप अनुसन्धान गरिरहेका छौँ,’ एसपी खड्काले भने।

प्रहरीले १२ हजार ७ सय ५८ एम्पुल बरामद गरेको छ। यसको बजार मूल्य २५ लाख रुपैयाँ भन्दा बढी पर्न आउँछ। प्रहरीले मिठाइको बट्टा भन्दै लागुऔषध बोक्ने भाडाको बसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

सहचालक र चालकले आफूहरूलाई बट्टाभित्र लागुऔषध भएको थाहा नभएको बताउँदै आएका छन्। तर, २७ पटकसम्म यसरी ओसारपसार गरेकाले अनुसन्धानको लागि नियन्त्रणमा लिएको एसपी खड्का बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell