PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेरिकाबाट हुलाकमार्फत आएको पार्सल खोल्दा फेरि भेटियो एक किलो गाँजा



पहिलोपोस्ट

अमेरिकाबाट हुलाकमार्फत आएको पार्सल खोल्दा फेरि भेटियो एक किलो गाँजा

काठमाडौं : अमेरिकाबाट फेरि पनि मनोज राईको नाममा आएको अर्को पार्सल खोल्दा लागुऔषध गाँजा भेटिएको छ। भदौ २० गते लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो लागुऔषध फेला परेको थियो।

प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो। राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए।

तर, पक्राउ परेपछि पनि पुनः मनोज राईको नाममा अर्को पार्सल आएको हो। टिसर्ट, पाइन्ट भनेर पार्सल गरिएको सामानमा १ किलो ३ सय ३० ग्राम गाँजा भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले बताए।

‘पहिलो पटक दुई किलो समातेका थियौँ। तर, त्यसपछि पनि मनोजको नाममा फेरि गाँजा आएको थियो,’ एसपी खड्काले भने।

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल खोल्दा गाँजा भेटिएको हो। पार्सल अमेरिकाको क्यालिफोर्नियाबाट आएको खुलेको छ। तर, पार्सल कसले पठाएको हो? कसलाई दिने भन्ने अनुसन्धानमा नखुलिसकेको प्रहरीले जानकारी दिएको छ।

त्यसो त क्यानडाबाट पनि यसअघि यस्तै प्रकृतिको पार्सलमा गाँजा आएको थियो। लागुऔषध गाँजा नेपालमा पनि उत्पादन हुन्छ। हिमाली क्षेत्रको गाँजा सेवनकर्ताले महँगो मूल्य तिरेर किन्ने गरेको प्रहरीको अनुसन्धानमा खुल्छ। तर, अमेरिकाबाट नै पार्सल गरेर गाँजा किन पठाए भन्ने खुल्न सकेको छैन।

‘केही कारण पत्ता लगाएका छौँ। त्यसको थप प्रमाण जुटाउन लागिरहेका छौँ,’ एसपी खड्काले भने।

प्रहरीले बरामद गरेको गाँजाको मूल्य ४९ हजार रुपैयाँसम्म पर्ने प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell