PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मानव सेवा आश्रमलाई अब नेपथ्यको साथ



पहिलोपोस्ट

मानव सेवा आश्रमलाई अब नेपथ्यको साथ

काठमाडौं : सडक मानव मुक्त पार्ने अभियानमा जुटेको मानव सेवा आश्रमको अभियानलाई नेपथ्यले साथ दिने भएको छ। मुलुक हिंसात्मक द्वन्द्वको अवस्थामा गुज्रिँदा ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ जस्ता सांगीतिक अभियान गरेको नेपथ्यले मानव सेवा आश्रमलाई साथ दिने भएको हो।

नेपथ्यले आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियान प्रववर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्ने जनाएको छ। यस अभियान अन्तर्गत नेपथ्यले यस वर्ष आफ्ना कार्यक्रमको मूल शिर्षक नै मानवताका लागि संगीत राख्ने निर्णय समेत गरेको छ।

नेपथ्यले मानव सेवाका लागि आवाज बनिदिने मात्र नभइ कन्सर्टहरु मार्फत् आर्थिक संकलन समेत गर्ने जनाएको छ।
‘नेपाली समाजले जसरी नेपथ्यलाई मनपरायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भने, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानशिक सन्तुलन गुमाएकाहरुको संख्या बढेको देख्थ्यौं। यिनीहरुको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो। 'यसै क्रममा एउटा संस्थाले उनीहरुको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो। अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु।’ उनका अनुसार अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ।
नेपथ्यसँगको सहकार्यले उल्लेखनीय फड्को मार्ने विश्वास मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीले लिएका छन्।

‘मानव सेवा आश्रममा स्वस्फूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवं हितचिन्तकहरु परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,’ अधिकारीले भने, ‘किशोरवय भन्दा माथिका बढीभन्दा बढी तन्नेरीहरुलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याउने छ भन्ने कुरामा म आश्वस्त छु।’
नेपथ्यसँगको सहकार्य जुटेपछि मनोबल उच्च बन्नपुगेको अधिकारीले बताए।
अपहेलित भएर सडकको पेटी वा नदीका बगरमा एकजना पनि भोकै सुतेको दृश्य देख्नु नपरोस् भन्ने नै अब 'मानव सेवा आश्रम' र 'नेपथ्य' दुवैको साझा संकल्प बन्नपुगेको नेपालयले जनाएको छ । अब नेपथ्यको गीतहरु यस अभियानसँगै ‘मानवताको लागि संगीत’ बन्न पुगेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell