PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

मन्त्रिपरिषदको निर्णय : व्याकुल माइलाको मासिक भत्ता ५० हजार, यी पालिकालाई घोषणा गरियो विपद् सङ्कटग्रस्त क्षेत्र



पहिलोपोस्ट

मन्त्रिपरिषदको निर्णय : व्याकुल माइलाको मासिक भत्ता ५० हजार, यी पालिकालाई घोषणा गरियो विपद् सङ्कटग्रस्त क्षेत्र

 

काठमाडौं : सरकारले राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को यही असोज ७ गते बसेको बैठकले व्याकुल माइलालाई सहज जीवनयापनका लागि मासिक २५ हजार भत्ता उपलब्ध गराउँदै आएकोमा उक्त रकममा वृद्धि गरि मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री कार्कीले संस्कृतिविद् एवं वाङ्मष शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको बताए।

सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न एवं सडक दुर्घटनालाई न्यूनीकरण गरि नागरिकको आवागमनलाई सहज, सुरक्षित र भरपर्दो बनाउन सवारीसाधनको यान्त्रिक परीक्षण, भारवहन क्षमता, सवारीको गति, टाइम कार्डको अवलम्बन गर्ने निर्णय पनि सरकारले गरेको छ। उक्त प्रयोजनका लागि अनुगमन, नियमन, सुपरीवेक्षण, निर्देशन र समन्वय गर्न गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिने निर्णय गरेको सञ्चारमन्त्री कार्कीले बताए।

मन्त्रिपरिषद् बैठकले विज्ञापन बोर्डका लागि आर्थिक वर्ष २०७९/०८० का लागि अधिकृतस्तरका कर्मचारीहरुको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। यस्तै, चुरे संरक्षण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको सरकारले विभिन्न स्थानीय तहलाई विभिन्न प्रयोजनका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ।

त्यसैगरि, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट सञ्चालन हुने बजार अनुगमन कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० का लागि राजपत्राङ्कित स्तरका पदको अस्थायी दरबन्दी स्वीकृति गर्ने बैठकले निर्णय गरेको छ। माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाको प्र्रसारणलाइनको आर.ओ. डब्लु. र टावर प्याड संरचनाहरु निर्माण गर्नका लागि सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नं ३, ४, ५, ६ र ११ मा रहेको राष्ट्रिय वनभित्रको पाँच दशमलव ८११ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने निर्णय सरकारले गरेको छ।      

प्राइभेट फर्म रजिष्ट्रेशन (चौधौ संशोधन) नियमावली, २०७९ लाई स्वीकृत गरेको बैठकले चुरे संरक्षण विधेयक तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ भने राष्ट्रिय सतर्कता प्रहरी (तेस्रो संशोधन) नियमावली, २०७९ पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद्ले दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको छ। बैठकले क्यानाडाको ओटावामा असोज १९ देखि २० सम्म आयोजना हुने डिजिटल समिटमा सहभागी हुन कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई स्वकृति दिएको छ।

यस्तै, थर्ड मिनिष्टेरियल कन्फ्रेन्स अन रिजनल इकोनोमीको अपरेशन एण्ड इन्टिग्रेसन इन एशिया एन्ड दी प्यासिफिक’ मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेललाई स्वीकृति दिने निर्णय पनि सरकारले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell