PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

प्रधानमन्त्रीको रेसमा आफू नरहेको प्रचण्डको प्रष्टोक्ति : ७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री बन्ने अफर त त्यागें



पहिलोपोस्ट

प्रधानमन्त्रीको रेसमा आफू नरहेको प्रचण्डको प्रष्टोक्ति : ७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री बन्ने अफर त त्यागें
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि आफू प्रधानमन्त्रीको रेसमा नरहने बताएका छन्। प्रेस सेन्टर नेपाल चितवनले दशैंको अवसरमा भरतपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यस्तो भनाई राखेका हुन्।

प्रचण्डले आफूलाई अहिले पनि प्रधानमन्त्रीको अफर रहेको दाबी गर्दै आफू राजनीतिक स्थिरताको वातावरण बनाउनेतिर लागेको तर्क गरे। उनले वाम गठबन्धन बनाएर २०७४ को निर्वाचनमा बहुमत हासिल गरेपछि आफूलाई पाँचै वर्ष प्रधानमन्त्री बन्ने अफर दिए पनि त्यो त्यागेको दाबी गरे।

'म प्रधानमन्त्रीको रेसमा छैन। जनताको अधिकार र समृद्धि मेरो पहिलो प्राथमिकता हो। मैले चाहेको भए ७४ को निर्वाचनपछि पाँचै वर्ष प्रधानमन्त्री हुने अफर मलाई थियो। मैले हैन त्यो भने। त्यसपछि पनि थियो। त्यसपछि अहिले भर्खर पनि छ,' प्रचण्डले भने, 'तर प्रधानमन्त्री मुख्य हैन। राजनीतिक स्थिरताको वातावरण बनाउने मेरो कमिटमेन्ट हो। फैसला तपाईहरुको हातमा छ।'

मंसिर ४ गतेको निर्वाचनमा फैसला कसको पक्षमा दिने भन्ने अधिकार अब नेपाली जनताको हातमा आइसकेको उनको भनाई थियो।

प्रचण्डले चितवनको भरतपुरमा विकासको स्थिति हेर्न यहाँका परियोजना नै पर्याप्त भएको बताए। 'चितवनमा या भरतपुर महानगरपालिकामा विकासको स्थिति के छ भन्ने कुरा विकासका परियोजनाहरुले नै बोलिरहेको छ। चितवनमा अरुले बढी बोल्न जरुरी देख्दिनँ। यसलाई नमुना विकास गर्नुपर्छ भनेर मैले बेलाबेला प्रतिवद्धता व्यक्त गर्दै आएको छु,' उनले भने, 'यो नेपालकै मध्यभागमा छ। यहाँको विकासको मोडल देशभरको राम्रो सन्देश र शिक्षा हुनेछ।'

प्रचण्डले प्रेस जगतले युद्धलाई शान्तिमा ल्याउने काम गरेको भन्दै प्रशंसासमेत गरे। 'अबको दशक क्रान्तिको दशक हो। हिजो युद्धलाई शान्तिमा शान्तिलाई संविधानमा संविधानलाई राजनीतिक स्थायित्वमा रुपान्तरण गर्दै हामी लागेकै हो। अग्रगमनलाई पत्रकारले साथ दिँदै आउनुभएको छ। जनयुद्धमा पनि प्रेस जगतले युद्धलाई शान्तिमा ल्याउने काम गर्‍यो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell