PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

४० प्रतिशत सिट पाउनुपर्ने कांग्रेस संस्थापनइतरको माग : नदिए देउवा एक्लै चुनाव लडोस्, हामी बहिस्कार गर्छौ



पहिलोपोस्ट

४० प्रतिशत सिट पाउनुपर्ने कांग्रेस संस्थापनइतरको माग : नदिए देउवा एक्लै चुनाव लडोस्, हामी बहिस्कार गर्छौ

काठमाडौं : नेपाली कांग्रेसमा समानुपातिक सूचीमा आफ्नो समूहको सहभागिता निकै कम भएको भन्दै संस्थापनइतर पुन छलफलमा जुटेको छ। ठमेलको होटल यात्रीमा डा शेखर कोइराला समूहका दोस्रो तहका नेताहरु छलफलमा जुटेका हुन्।

भेलाको नेतृत्व नुवाकोट कांग्रेसका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले गरिरहेका छन्। संस्थापनइतर समूहका नेताहरुले समानुपातिक सूचीमा आफ्नो पक्षलाई बेवास्ता गरेपछि गठबन्धनलाई असहयोग गर्ने चेतावनी दिँदै आएको छ।

समय छँदै मिलाउन नसकिए विद्रोह गर्ने चेतावनीसमेत शेखर पक्षको छ। यसअघि डा शेखर समूहले गत शनिवार खबरदारी सभा आयोजना गरेको थियो। अगाडिको नाम पछाडि सार्ने, गुटसमेत नहेरी आफ्ना पकेटका मान्छेको नाम राखेर कांग्रेसमा लगानी गरेका कार्यकर्ताको नाम हटाउने कामको विरुद्ध आफूहरु भेलामा जुटेको एक नेताले बताए।

समयमै माग सम्बोधन नभए अनशन, धर्ना र निर्वाचन बहिष्कारसम्मका वैकल्पिक संघर्षको योजना बनाउने संस्थापनइतरको तयारी रहेको बताइएको छ। समानुपातिकको बन्दसूचीमा १०९ जनाको नाममा डा शेखर पक्षबाट जम्म १३ जनाको नाममात्र समावेश भएको छ। यही विषयलाई लिएर संस्थापनइतरले थप छलफल थालेको हो।

'हामीले ४० प्रतिशत टिकट नपाए देउवा पक्ष एक्लै चुनाव लडोस्,' ती नेताले भने, 'गठबन्धनका पाँच दल मिलाउन १८ घण्टा समय दिने निरन्तर छलफल ६० दिनसम्म गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि समय नदिने यस्तो नि हुन्छ?'

बैठकमा केन्द्री सदस्यहरु प्रतिमा गौतम, मधु आचार्य, अजयबाबु शिवाकोटि, प्रकाश स्नेही सहभागी छन्। यसैगरी नेताहरु गुरु घिमिरे, भुपेन्द्रजंग शाही, जितनाराय श्रेष्ठलगायत सहभागी रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell