PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गाको नापजाँच पूरा, ड्रोनबाट गरिएको थियो नापजाँच



पहिलोपोस्ट

मोतीपुर औद्योगिक क्षेत्रमा जग्गाको नापजाँच पूरा, ड्रोनबाट गरिएको थियो नापजाँच

बुटवल : रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा नापजाँचको काम पूरा भएको छ। बुटवल उपमहानगरपालिका-१७ रानीगञ्जस्थित जनशक्ति प्राथमिक विद्यालय नजिकैबाट शुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरण कार्यदलका संयोजक उमाकान्त चपाईंले जानकारी दिए।

ड्रोनबाट ११ दिनमा सो क्षेत्रका जग्गा नापजाँच गरेको र सोही रिपोर्टको आधारमा औद्योगिक क्षेत्रका लागि जग्गा छुट्याएपछि संघीय सरकारलाई सिफारिश गर्ने उनले बताए। जग्गा नापजाँच शुरु गरेको ११ दिनमा करीब ३५ हजार तस्विरहरु लिइएको र ती तस्विरका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको जग्गा यकिन गर्ने नापजाँचमा खटिएका प्राविधिक सागर गिरीले जानकारी दिए। उनले तथ्यांक प्रशोधनका लागि करीब १ महिना लाग्ने र पुनः फिल्ड अध्ययनपछि अन्तिम रिपोर्ट तयार गर्ने बताए।

प्राविधिक टोलीले नापजाँचपछि तयार पार्ने तथ्यांकका आधारमा औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने नगरप्रमुख खेलराज पाण्डेयले बताए। प्राविधिक टोलीले उपलब्ध गराउने तथ्यांकका आधारमा औद्योगिक क्षेत्र बनाउन योग्य जग्गा र अन्य जग्गा छुट्याएर औद्योगिक क्षेत्रका लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने उनले बताए।

संघीय सरकारले स्थानीय तहको सिफारिसका आधारमा औद्योगिक क्षेत्रका नाममा थप जग्गा ल्याउनुपर्ने या घटाउनुपर्ने भएमा निर्णय गरेर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाउने उनले बताए।

‘अहिले औद्योगिक क्षेत्रको जग्गा ८१३ बिघा भन्ने लालपूर्जा आएपनि कहाँदेखि कहाँसम्मको जग्गा भन्ने यकिन नभएकाले विवाद थियो, अब यो विवाद हट्नेछ, स्थानीयको पनि चित्त बुझ्नेछ र औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्नेछ,’ उनले भने।

२०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको हो उसैलाई दिलाउने प्रक्रिया कार्यदलले बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने नगरप्रमुख पाण्डेयले बताए। कार्यदलले प्रतिवेदन तयार गरेपछि सोहीअनुसार प्राप्त विवरणका आधारमा औद्योगिक क्षेत्रको जग्गाको क्षेत्रफल घटाउन सकिने वा नसकिनेबारे प्रतिवेदन तयार गरी पेस गर्नेछ।

प्राविधिकले अन्तिम रिपोर्ट पेस गरेपछि बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, शुद्धोधन गाउँपालिका र सियारी गाउँपालिकाले कार्यदलबाट प्रतिवेदन प्राप्त भएपछि कार्यपालिकाबाट निर्णय गरी सिफारिस गर्ने कार्यदलका सदस्य सचिव बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए। मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र सहजीकरणका लागि १० भदौमा गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुखको नेतृत्वमा कार्यदल बनेको थियो।

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो। पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भएपनि स्थानीयको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell