PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अन्तिम पटक सिसिटिभी फुटेजमा धोबिघाटमा देखिएकी गायिका जेरुसा राई घरमा पत्र लेखेर कहाँ गइन्?



सविन ढकाल

अन्तिम पटक सिसिटिभी फुटेजमा धोबिघाटमा देखिएकी गायिका जेरुसा राई घरमा पत्र लेखेर कहाँ गइन्?

काठमाडौं : असोज ६ गते साँझ ७ बजेतिर गायिका जेरुसा राई घरबाट निस्किइन्। केही समयमै फर्किनुपर्ने थियो तर फर्किनन्। रात बित्यो। बिहानसम्म पनि नफर्किएपछि परिवारका सदस्य प्रहरीकहाँ पुगे। असोज ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जेरुसा हराएको भन्दै परिवारले जानकारी गरायो।

त्यसपछि परिसरको टोली गायिका समेत रहेकी राईको खोजीमा जुट्यो। असोज ६ गते साँझ साढे ७ बजेतिर ललितपुरको धोवीघाटतिर उनी हिँडिरहेको सिसिटिभी फुटेज प्रहरीले फेला पार्‍यो। धोवीघाटको वाग्मतीमा रहेको फलामे पुलबाट करिब ७० मिटर दुरीमा अर्को पक्की पुल छ। उनी त्यही पक्की पुलतिर गएको भिडियोमा देखियो। तर, त्यसपछि उनी कहाँ गइन् भन्ने खुलेन।

'उहाँको परिवारले पनि सिसिटिभी फुटेज हेर्दा पहिचान गर्नु भएको छ। धोवीघाटमा अन्तिम पटक देखिन्छ,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

हराएकी उनलाई धोवीघाट वरपर देखेपछि प्रहरी परिचालन गरेर सम्भावित स्थानहरुमा खोजी गरियो। परिसरको टोलीले सानेपा प्रहरी प्रभाग, भैंसेपाटी प्रभाग र कीर्तिपुर प्रहरी वृत्तबाट पनि प्रहरी खटाएर गायिका राईको खोजी गर्‍यो। तर, उनी भेटिइनन्। सामाजिक संजालमा स्वतस्फूर्त रुपमा मानिसहरुले जेरुसाको खोजीमा जुट्ने अभियान सुरु गरे। स-सानो टोली बनाएर युवायुवतीको समूह उनको खोजीमा जुट्यो।

'असोज ७ गतेदेखि हाम्रो टोलीले विभिन्न कोणबाट अनुसन्धान गर्दै खोजी गरिहरेको छ। अहिलेसम्म फेला पर्नु भएको छैन,' जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता सुधीरराज शाहीले भने।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रले कुकुर समेत ल्याएर सम्भावित स्थानमा खोजी गरेको थियो। त्यसबाट खासै केही पत्ता लाग्न सकेको छैन। कुकुरले जलविनायक चोभारतिर संकेतमात्र गरेको थियो। त्यसपछि ललितपुर प्रहरीले काठमाडौं प्रहरीको सहयोगमा चोभार क्षेत्रका सम्भावित स्थानमा खोजी गर्‍यो। तर केही हात लागेन। स्वत: खोजीमा जुटेका युवायुवतीले सो क्षेत्रमा ड्रोन उडाएर पनि जेरुसाको खोजी गर्‍यो।

दुई दिनदेखि गायिका राईलाई खोजिरहेको प्रहरीलाई आइतवार बिहान साढे ९ बजेतिर चोभारको एक गलैचा कारखानबाट खबर आयो। त्यसपछि प्रहरी त्यही क्षेत्रतिर 'मुभ' भयो। तर त्यहाँबाट पनि प्रहरीले थप खोजीका लागि 'क्लू' पाउन सकेन।

जेरुसा राई अमेरिकामा बस्दै आएकी थिइन्। १५ दिन अघिमात्रै उनी नेपाल फर्किएको परिवारले जानकारी दिएका छन्। उनको केही समय अगाडि विवाहभएर डिभोर्स समेत भइसकेको खुल्न आएको छ। त्यसपछि उनमा मानसिक समस्या देखिएको परिवारले प्रहरीलाई जानकारी दिएको छ।

जेरुसाले आफूले प्रयोग गर्दै आइरहेको मोबाइल समेत घरमा नै छोडेकी छिन्। जसले गर्दा मोबाइलको प्राविधिक पक्षबाट अनुसन्धान गर्ने पाटो पनि बन्द भएको छ।

'उहाँ हराउनु भन्दा केही दिन अगाडिबाट नै मोबाइलमा सम्पर्क भएको देखिँदैन। मोबाइल घरमा नै छोडेर जानु भएको छ,' प्रवक्ता शाहले भने।

प्रहरीले जेरुसाको घरबाट एउटा 'नोट' फेला पारेको छ। नोटमा उनले आफू हराएको कारण समेत खुलाएकी छिन्। पत्रमा उनले कसैलाई पनि दोष लगाएकी छैनन्। आफूले सम्पूर्ण जीवन बाँचिसकेको र आफ्नै खुसीले निर्णय गरेको उल्लेख गरेकी छिन् उनले नोटमा। पत्रमा उनले वाग्मती खोला समेत लेखेकी छिन्। उनले लेखेको वाग्मतीलाई प्रहरीले 'क्लू' मानेर आसपासको क्षेत्रमा खोजी गरेको थियो।

सोमवार बिहान भने प्रहरीलाई जेरुसा वीरगंजको गाडी चढेर गएको जानकारी आएको थियो। त्यसपछि ललितपुर प्रहरीलाई, मकवानपुर र वीरगंज प्रहरीले सम्भावित गाडी रोकेर त्यसमा रहेकी एक महिलाको फोटो खिचेर पठाएको छ।

'सूचना आएजस्तै गाडीलाई पथलैयामा रोकेर फोटो खिचेर पठाएको छ। परिवारसँग भेरिफाइ गर्दैछौं। तर उनी जेरुसा हो जस्तो लागेको छैन,' एक प्रहरी अधिकृतले सुनाए।

प्रहरीले जेरुसाका साथीहरुको सहयोग लिएर पनि खोजी गरिरहेको छ। जेरुसाले बेलायतमा बसेर पढेकी हुन् भने कामको शिलशिलामा अमेरिका पुगेकी थिइन्। उनका बुबा बेलायतमा बस्दै आएका छन्। उनी बुबासँगै बसेर पढेको खुलेको छ। उनको बुबा र आमाको पनि डिभोर्स भइसकेको छ। जेरुसाको बारुद, सुनसान, लाटोकोसेरो लगायत नेपाली र अङ्ग्रेजी भाषाका गीत चर्चित छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell