
जनकपुरधाम : नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। जनकपुरधाममा सोमवार बिहान पत्रकार सम्मेलनको आयोजना गरी उनले एमाले पार्टी परित्यागको घोषणा गरेका हुन्।
एमाले कम्युनिस्टको विचार, नीति र सिद्धान्त विपरीत व्यक्तिवादी भएर चल्न थालेकोले आफूले पार्टी परित्याग गरेको यावदले बताए। गंगाराम धनुषा क्षेत्र नम्बर २ का एमालेका पुराना र प्रभावशाली नेता मानिन्छन्।
२०३६ सालदेखि नै एमालेको राजनीतिमा सक्रिय उनी एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकंक्षी थिए। तर, एमालेले धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव रुष्ट बनेका छन्।
जनता समाजवादी पार्टीले धनुषा क्षेत्र नम्बर २ बाट यादवलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने तयारी गरेको श्रोतले जनाएको छ।