PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, १२ जना घाइते



पहिलोपोस्ट

मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो, १२ जना घाइते
फाइल फोटो

काठमाडौं : गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ।

पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए। मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि महानिर्देशक लुइँटेलले बताए।

हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकप्टर पठाइएको छ। यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ।

मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए। गोरखाको सामागाउँमा तीन वटा हेलिकप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए।

चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ। मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन्।

सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन्। पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन्।

यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुली आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell