PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सि विचारधाराबाट निर्देशित सीपीसी कंग्रेसका प्रतिनिधिहरू, राष्ट्रपति सी क्वान्सी र प्रधानमन्त्री ली कान्सुबाट निर्वाचित



पहिलोपोस्ट

सि विचारधाराबाट निर्देशित सीपीसी कंग्रेसका प्रतिनिधिहरू, राष्ट्रपति सी क्वान्सी र प्रधानमन्त्री ली कान्सुबाट निर्वाचित
जनवादी गणतन्त्र चीनको राष्ट्रिय दिवस तथा सीपीसीको २० ‍औं कंग्रेसका लागि बेइजिङस्थित थियानमन स्क्वायरमा तयार पारिएको १८ मिटर अग्लो पुष्प गमला। फोटो: सिन्ह्वा

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को २० औं कंग्रेसका लागि दुई हजार बढी प्रतिनिधिहरु छनोट भएका छन्। प्रतिनिधिहरुको अन्तिम नामावाली तयारी भइरहेको छ। देशभरका निर्वाचन क्षेत्रबाट पार्टी कंग्रेसमा सहभागि हुन प्रतिनिधि तथा पार्टी प्रतिनिधहरु तयार रहेको र दुई हजार २९६ प्रतिनिधिहरु २० औं  कंग्रेसमा सहभागि हुने चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ। 

सबै प्रतिनिधिहरु नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवाद सम्बन्धी चिनफिङ विचारधारबाट निर्देशित भइ पार्टीको विधानअनुसार निर्वाचित भएको समाचारमा उल्लेख छ। 

सीपीसीका उत्कृष्ट सदस्यहरु पार्टीको सिद्धान्त र राजनीतिमा उच्च योग्यता भएका, उत्कृष्ट कार्यक्षमता र उच्च नैतिक क्षमता भएकाहरु रहेको समाचारमा उल्लेख छ।

यसरी प्रतिनिधित्व गर्ने प्रतिनिधिहरुमा पार्टी नेतृत्वमा काम गरेका, अग्रपंत्तिमा रहेर काम गरेका, महिला पार्टी सदस्य, अल्पसंख्यक समुदायका व्यक्तिहरुका साथै वित्तिय, विज्ञान तथा प्रविधि, राष्ट्रिय सुरक्षा, न्याय, जनसुरक्षा, शिक्षा, संस्कृति, स्वास्थ्य, खेलकुद तथा समाजिक प्रशासनका क्षेत्रमा काम गर्ने व्यक्तिहरुसमेत रहेका छन्। 

निर्वाचित प्रतिनिधिहरुको योग्यतालाई कंग्रेस अगाडि विशेष अनुगमन कमिटीले पुष्टि गरेपछि उनीहरु कंग्रेसमा सहभागि हुन पाउने छन्। अक्टोवर १६ बाट सुरु हुने सीपीसीको २० कंग्रेसबाट राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकालका लागि पार्टी नेताको रुपमा चुनिने अपेक्षा गरिएको छ।  

बेइजिङमा कंग्रेसको तयारीका संकेतहरु देखा परेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। 

अहिले बेइजिङको सुरक्षा व्यवस्था कडाई गर्नुका साथै कोभिड-१९ नियन्त्रणका उपायहरु अपनाइँदै छ। त्यस्थै थियानमन स्क्वायर र राजधानी वरपर ठूला ब्यानर राखिएका छन्, फूलहरु सजाइएका छन्। ‘हामी हर्षका साथ २० औं पार्टी कंग्रेसको स्वागत गर्छौँ’ लेखिएका नाराहरु देखिन थालेका छन्। 

दशकमा दुई पटक हुने पार्टी कंग्रेस मार्फत पार्टी नेतृत्वमा परिवर्तन हुने गर्छ। त्यस्तै पार्टीको विधान संशोधन पनि हुन्छ। यसपटक विधान संशोधन मार्फत सि थप शक्तिशाली हुने बताइएको छ। 

चिनियाँ सरकारी समाचार ऐजेन्सीहरुले पार्टीका प्रतिनिधिहरुको छनोट सि विचार धाराको निर्देशन अनुरुप भएको उल्लेख गरेका छन्। यसले पनि उनलाई थप शक्तिशाली बनाउने अपेक्षा राखिएको छ। चीनको संविधान र पार्टीको विधानमा सि विचारधारालाई संशोधन मार्फत समावेश गरिएको छ। 

पार्टी कंग्रेसमा प्रतिनिधिहरुले केन्द्रीय सदस्यहरु निर्वाचित गर्नेछन्। केन्द्रीय कमिटीका पूर्णय सदस्यले २५ सदस्यीय पोलिट ब्युरो र यसको स्थायी कमिटी सदस्यहरुलाई निर्वाचित गर्ने छन्। सीपीसीको यही पोलिटव्युरो स्थायी कमिटीमा पूरा शक्ति केन्द्रीत हुनेछ। 

साउथ चाइना मर्निङ पोस्टका अनुसार यसपटक महिला प्रतिनिधित्व तीन प्रतिशतले बढेको छ। कूल प्रतिनिधि मध्ये २७ प्रतिशत अथवा ६२० जना महिला भएको रिपोर्टमा उल्लेख छ। त्यस्तै १२ प्रतिशतको हाराहारीमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व रहनेछ।  

प्रतिनिधिहरुको यो 'लिस्ट' केही आश्चर्य दिने खालको छ। यो सूचीमा सबै पोलिटब्युरो सदस्यहरु, केन्द्रीय सैन्य कमाण्डका सदस्यहरु, उच्च सैन्य अधिकारीहरु, थियटर कमाण्डका प्रमुखहरु, सबै क्षेत्रका पार्टी प्रमुख तथा सचिवहरु, सबै विभागका सदस्यहरु रहेका छन्। यो सूचीमा अवकासको उमेरमा रहेका पार्टीका नेतृत्वहरुसमेत समावेश छन्, जसले यसै कंग्रेसबाट विदा लिनेछन्। 

सीपीसीका महासचिव तथा सैन्य आयोगका अध्यक्षसमेत रहेका राष्ट्रपति सि गत अप्रिलमा क्वान्सी क्षेत्रीय कंग्रेसबाट प्रतिनिधिको रुपमा निर्वाचित भएका थिए। त्यस्तै प्रधानमन्त्री लि ख्छ्याङ कान्सुबाट निर्वाचित भएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell