PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दशैँको अवसरमा जनकपुरधाममा सञ्चालनमा आयो ‘सस्ता बजार’



पहिलोपोस्ट

दशैँको अवसरमा जनकपुरधाममा सञ्चालनमा आयो ‘सस्ता बजार’

जनकपुरधाम : दशैँको अवसरमा प्रत्येक वर्ष झैँ यसपालि पनि जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा ‘सस्ता बजार’ लागेको छ। जनकपुरधामको राम चोकस्थित गोपाल धर्मशालामा ‘सस्ता बजार’ एक सातासम्मका लागि सुरु भएको हो।

‘सस्ता बजार’को उद्घाटन मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतोले गरेका छन्। स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर असोज १० गते घटस्थापनादेखि महाअष्टमीसम्म दशैँ मेला गोपाल धर्मशालामा शुरु भएको छ। दशैँ बजारमा भित्र तथा बाहिर गरेर १ सय ४ वटा स्टलहरु रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिए।

उनले ‘सस्ता बजार’को रुपमा परिचित रहेको जनकपुरधामको दशैँ मेलाबाट गरिब तथा विपन्न वर्गका उपभोक्ताहरुले पनि राहात पाउने विश्वास व्यक्त गरे। उनले दशैँ, दिपावली तथा छठले मुलुकमा शान्ति, समृद्धि र अमन चयन काम हुने विश्वास पनि व्यक्त गरे।

धनुषाका प्रमुख जिल्ला अधिकारी एवं दशैँ बजार मूल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पूर्व अध्यक्ष निरमल चौधरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अवधेस कामतलगायतको उपस्थिति रहेको थियो। दशैँ बजारमा खाद्यान्न, दैनिक उपभोग्यका सामाग्रीहरु, प्लाष्टिकका भाडाहरु, लत्ता कपडाहरु तथा अन्य प्रकारका उपभोग्य सामग्रीहरु राखिएको छ।

दशैँ बजारलाई सस्तो बजार पनि भनिने भएकाले यसमा कतिपय उपभोक्ताहरुले दैनिक उपभोगका सामाग्रीहरु वर्ष भरिका लागि खरिद गरेर लाने गरेका छन्। मेलामा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्पादन भएका सामानहरुको बिक्री कक्ष रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell