
- फूलमान तामाङ-
नवलपुर : नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले देशभरका पालिका भवनहरु एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला ठडिएको बताएका छन्। सोमवार सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको नवलपुरमा दशैँको शुभकामना कार्यक्रममा उनले यस्तो भनाइ राखेका हुन्।
‘सबै पालिकाको भवन केपी ओलीको नेतृत्वमा बनेको हो। यो गाउँपालिका पनि केपी ओली नेतृत्वमा बनेको हो,’ तामाङले भने।
करिब ६ करोडको लागतमा बनेको गाउँपालिकाको भवन नेपाली कांग्रेसका महामन्त्री गगन थापा पुगेर उद्घाटन गरेका थिए। कांग्रेसबाट २०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित वंशलाल तामाङको नेतृत्वमा उक्त भवन बनेको हो। अहिले इन्द्रावतीका अध्यक्षमा एमालेबाट निर्वाचित झम्क नेपाल छन्।
कार्यक्रममा तामाङले ‘एक घर एक धारा’ कार्यक्रमबाट कोही पनि बञ्चित नहुने समेत बताए।
‘पालिका सम्पन्न हुँदैछ। इन्द्रावती सुख्खाग्रस्त क्षेत्र भएकोले इन्द्रावती वृहत् खानेपानी आयोजना पनि हाम्रै पालामा संचालनमा भएको छ। पालिका भित्रको समस्या पहिचान गरी हामीलाई अगुवाइ गर्नु होला। इन्द्रावतीको कुनै घरमा खानेपानी र एक घर एक धाराबाट बन्चित हुने छैन’, तामाङले भने, ‘धुलो हिलो सडक हिँड्नुपर्दैन। इन्द्रावती विकासित हुँदैछ।’
यद्यपि, ‘एक घर, एक धारा’ कार्यक्रम यसअघिकै अध्यक्ष वंशलाल तामाङको नेतृत्वमा शुरु भएको हो।
कार्यक्रममा कांग्रेस नेता विष्णुविक्रम थापाले जनताप्रति स्थानीय सरकार उत्तरदायी हुनुपर्ने बताए। स्थानीय निर्वाचनमा आफ्नो पार्टी पराजित हुन पुगेकोले आफूलाई पीडाबोध भएकोसमेत उनले बताए।