PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

हारबारे नसोचेको प्रशिक्षक हुमागाईंको दाबी, कप्तान चेम्जोङले झोक्किँदै भने: राष्ट्रिय टोलीमा नआएको होइन, निकालिएको हो



पहिलोपोस्ट

हारबारे नसोचेको प्रशिक्षक हुमागाईंको दाबी, कप्तान चेम्जोङले झोक्किँदै भने: राष्ट्रिय टोलीमा नआएको होइन, निकालिएको हो
तस्बीर: एन्फा

काठमाडौं: नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले जितको लागि खेल्ने र हारबारे नसोचेको बताएका छन्। पहिलो पटक राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्दै गरेका उनले तयारी राम्रो भएको भन्दै जितसँगै नेपालमा दशैँको माहोल राम्रो बनाउन चाहेको बताए।

'खेल जितका लागि खेल्ने हो। त्यसबाहेक के होला भन्ने सोचेको छैन।' उनले भने।

हुमागाईंले आफू नेपाली फुटबल सँगसँगै रहेको बताउँदै थ्री स्टार क्लबमा प्रशिक्षण गराएको स्मरण गरे।

'यही पेरिफेरिमा आजभन्दा १२ वर्षअगाडि यही महिनातिर म थ्री स्टारमा इङ्गेज भएको थिएँ। त्यतिबेला किरण गोलकिपर थिए। अहिले पनि किरण नै छन्,' उनले भने, 'मात्र वर्ष बित्यो होला। युवा थियो, अली बुढो भइयो होला। थ्री स्टारमा भए पनि, राष्ट्रिय टोलीमा भए पनि ड्युटी भनेको ड्युटी हो। मैले सहज रुपमा लिएको छु।'

त्यस्तै नेपाली टोलीका कप्तान किरण चेम्जोङले एसिया कप छनोट २०२३ मा आफू नआएको नभएर नबोलाइएको बताएका छन्। किरणले राष्ट्रिय टोलीमा आफ्नो लागि मात्र नभएर देशका लागि खेल्न आएको भन्दै राष्ट्रिय टोलीमा गुट नभएको बुझ्न आग्रह गरे।

'नआएको होइन निकालिएको भन्नुस न। बोलाइएन होइन। राष्ट्रिय टोलीमा गएपछि देशका लागि खेल्ने हो ग्रुपिजम बनाएर हिँड्ने होइन। हामी देशका लागि खेल्न आएको हौँ,' चेम्जोङले भने, 'राष्ट्रिय टिममा प्रतिनिधित्व गरेपछि किरण चेम्जोङको मात्र नाम आउँदैन, राष्ट्रको नाम आउँछ।'

तत्कालीन प्रशिक्षक अलमुताइरीसँग १० सिनियर खेलाडीको टसलका क्रममा किरणले खेलाडीहरुलाई समर्थन गरेका थिए। जसमा अलमुताइरीले यी खेलाडीलाई बाहिर राख्दै टिम घोषणा गरेका थिए।

नेपालले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साडे ५ बज बंगलादेशसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell