
काठमाडौं : हिजोबाट बडादशैं सुरु भएको छ। घरघरमा जमरा राखेर घटस्थापना गरिएको छ। शास्त्रीय विधान अनुसार विधिवपूर्वक दशैं घर वा पूजा कोठामा कलश स्थापना गरि दुर्गा भवानीको आह्वान गर्ने गरिएको छ।
दशैंको पहिलो दिनदेखि नै नवरथ जाने परम्परा रहेको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ दिनसम्म ९ तीर्थहरु जाने चलन छ।
पहिलो दिन हिजो शंकरतीर्थ (शंखमूल) मा भक्तजनहरुको भिड लागेको थियो। आज दोस्रो दिन निर्मलतीर्थ (शोभा भगवती) जाने परम्परा छ।
तेस्रो दिन पुण्यतीर्थ (गोकर्ण), चौथो दिन कालमोचनतीर्थ (कालमोचन), पाँचौ दिन पन्चनारीतीर्थ (पचली), छैठौं दिन मनोरथतीर्थ (टोखा), सातौं दिन देवतीर्थ (देउपाटन), आठौं दिन चिन्तामणी तीर्थ ( टेकु), नवौं दिन भने भवानी तीर्थ (ढोका टोल) जाने परम्परा रहेको छ।
नवमीको दिन नवरथ गएकाहरु दशमीका दिन गुहेश्वरीस्थित शान्ततीर्थमा गएर स्नान गरी नवरथ टुंग्याउने गर्छन्। सबै स्थान जान नसक्नेहरु नजिकको मान्दिरमा गएर पूजा गर्ने गर्छन्।
हाल भने नवरथ जाने परम्परामा कमी आएको छ। मानिसहरु नजिकैको दुर्गा भगवतीको मन्दिरमा गएर पूजा गर्ने गर्छन् भने नदीबाट बालुवा ल्याइ जमरा राख्ने प्रवृत्तीमा समेत कमी आएको देखिन्छ।
दशैंको पहिलो दिन आज शैलपुत्री देवीको पूजा गर्दै घटस्थापना गरिएको थियो।आज दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा गरिँदैछ।
ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। तीन नेत्र हुने ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी मानिन्छ। कठोर साधनामा लिन रहने हुँदा उनलाई ब्रह्मचारिणी भनिएको हो। ब्रह्मचारिणीको उपासना गर्नाले ज्ञान सिद्धी हुनुका शक्ति र सुख मिल्ने विश्वास छ।
त्यसपछि महानवमीसम्म क्रमश चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्रीको आराधना गर्ने गरिन्छ। यससँगै दशै अवधीभर नव दुर्गाका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा गर्ने गरिन्छ।
विजयी दशमीका दिन भने देवीको आशीर्वाद स्वरुप ठूलाबडाको हाताबाट टीका लगाउने परम्परा रहेको छ।