बुटवल : ४३औँ विश्व पर्यटन दिवसको अवसरमा गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा आएका पर्यटकहरुलाई स्वागत गरिएको छ। मंगलवार लुम्बिनी विकास कोषसहित लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ लगायतका संस्थाहरुले लुम्बिनी भ्रमणमा आएका पर्यटकहरुलाई स्वागत गरेका हुन्।
स्पेन, भियतनाम, नेदरल्याण्ड्स, इजरायल, भारतबाट आएका विदेशी पर्यटकहरुलाई शान्तिभूमी लुम्बिनीमा स्वागत गरिएको हो। शान्ति दीपमा स्वागत गर्दै पर्यटकहरुलाई मायादेवी मन्दिरसम्म स्थानीय साँस्कृतिक झाँकी सहित भ्रमणका लागि लगिएको थियो।
पर्यटक स्वागत कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती हृदयरत्न बज्राचार्यले लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय स्थल भएको बताउँदै यसको प्रचारप्रसारमा सबै लाग्नुपर्ने बताए। उनले विदेशी पाहुनालाई स्वागत सत्कार गरेर पर्यटन दिवस मनाउन पाएकोमा खुशी व्यक्त गरे।
लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीमा पर्यटकहरु निर्धक्कसँग भ्रमण गर्ने वातावरण बनाएको बताए। उनले विश्व पर्यटन दिवसमा विदेशी तथा स्वदेशी पर्यटकलाई स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताए।
‘विगतमा कोभिड महामारीका कारण पर्यटकहरुको कमी थियो, अब पर्यटकहरु आउनेक्रम बढेको छ,’ उनले भने।
उनले लुम्बिनी विकास कोषले पर्यटकलाई भ्रमणका लागि ‘टुर गाइड’को व्यवस्था समेत गरिएको बताए।
लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले लामो समयसम्म कोभिड महामारीका कारण पर्यटक भित्र्याउन नसकेको बताउँदै अब विस्तारै त्यो माहोल बढ्दै गएको बताए। उनले लुम्बिनीमा पर्यटकहरुलाई लक्षित गरि विशेष प्याकेजका कार्यक्रमहरु समेत सञ्चालन गरिएको बताए।
कार्यक्रममा लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लिलामणि शर्मा, महासचिव पुरुषोत्तम अर्यालले पर्यटन दिवसको भुभकामना दिए। कार्यक्रममा लुम्बिनीको स्थानीय साँस्कृतिक समूह, महिला समूह, सैनामैनाको नेवा समूहले साँस्कृतिक झाँकीहरु प्रदर्शन गरेका थिए।
विश्व पर्यटन दिवसको दिनदेखि सिद्धार्थ होटल संघले भैरहवा तथा यस आसपासका सम्पूर्ण होटलमा नेपाली तथा भारतीय पर्यटकलाई २० प्रतिशत छुटको घोषणा गरेको छ। होटलमा उपलब्ध कोठा, खानामा यो छुट प्रदान गरिएको सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए।
नेपाल पर्यटकको लागि खुला रहेको र पर्यटकको स्वागत गर्न आतुर रहेको भन्ने सन्देश दिन ‘पर्यटनमा पुनर्विचार’ भन्ने नारासहित यो दिवस मनाइएको छ। नेपालमा रुपन्देहीको बेलहिया नाकाबाट सडक मार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने गरेका छन्।