
काठमाडौं : नेपाली कांग्रेसले काठमाडौंमा आएका नेता/कार्यकर्तालाई निर्वाचन क्षेत्रमा फर्कन निर्देशन दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा इतर पक्षले समानुपातिक निर्वाचनको बन्द सूचीमा एकलौटी गरिएको भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
डा शेखर कोइराला पक्षले आफूलाई बेवास्ता गरिए विद्रोह हुने चेतावनी दिइरहेका छन्। कोइराला पक्षलाई जवाफ स्वरुप प्रवक्ता डा प्रकाश शरण महतले विज्ञप्ति जारी गरेर विधि र प्रक्रियाबाटै सूची तय भएको जनाएको छ। आन्दोलनका लागि काठमाडौं आएकाहरुलाई पनि गाउँ फर्कन निर्देशन दिइएको हो।
'प्रतिनिधिसभा कार्य समितिबाट जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आइपुगेका र प्रदेश सभाका लागि धारा ३२ को उपधारा ७ बमोजिम प्रदेश सभा क्षेत्रीय कार्य समितिबाट सिफारिस भई प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति, जिल्ला कार्य समिति, प्रदेश कार्य समिति हुँदै केन्द्रमा आएका नामहरु उपर केन्द्रीय संसदीय समितिको बैठकले सर्वसम्मतिले समानुपातिक उम्मेदवारहरुको नामावली टुंगो लगाइएको हो,' विज्ञप्तिमा भनिएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुको टुंगो लगाउदा पार्टीका पदाधिकारीहरुबिच घनिभूत छलफल भएको कांग्रेसले जनाएको छ। पार्टीभित्रका आधिकारिक निकायबाट सर्वसम्मत निर्णय गरिएको पनि विज्ञप्तिमा दाबी गरिएको छ।