PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

ठाउँ-ठाउँमा सवारी जाँच : मदिरा पिउने चालक कारबाहीमा



रासस

ठाउँ-ठाउँमा सवारी जाँच : मदिरा पिउने चालक कारबाहीमा
फाइल फोटो।

बलेवा : दशैँका बेला मदिरा पिएर सवारी साधन चलाइरहनुभएको छ भने बेलैमा होस् गर्नुहोला, ठाउँ-ठाउँमा प्रहरीले जाँच गरिरहेको छ। समय समयमा सवारी साधनमा हुने भीडभाड, सडकमा हुने भीडभाड र असावधानीका कारण हुने दुर्घटना कम गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको छ।

अहिले जिल्लाका विभिन्न ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरेर प्रहरी थप सक्रिय भएको हो। सदरमुकाम बागलुङ बजार, गलकोट, कुश्मीशेरा, बुर्तिबाङ, खर्वाङलगायत जिल्लाका ६ ठाउँमा ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष स्थापना गरेको छ।

बाइस ट्राफिक प्रहरी र नेपाल प्रहरीले २४ घण्टा सहयता कक्षबाट नागरिकका गुनासा सुन्ने र सवारी साधनको निगरानी गर्ने भएका छन्। चाडपर्वका बेला सवारी साधनको दुर्घटना न्यूनीकरण योजना २०७९ अन्तर्गत उनीहरुलाई परिचालित गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी प्रमुख राजकुमार केसीका अनुसार उनीहरुलाई जिल्लाका विभिन्न ठाउँमा स्थायी रुपले केही ठाउँमा मादकपदार्थ सेवन गरे/नगरेको जाँच गर्न, केही युनिटलाई नियमित चेकिङ, मोबाइल गस्ती, सहायता कक्ष, विपद् उद्धार, राजमार्ग गस्तीलगायत जिम्मेवारी दिइएको छ। मादक पदार्थ सेवनको परीक्षण, नागरिकको गुनासो आए तत्काल समाधान, दुर्घटनामा तत्काल उद्धार, चोरी, झैझगडा र सवारी साधनले गर्ने यात्रु तानातान कम गर्न समेत प्रहरी सक्रिय हुने उनले बताए।

‘अन्य समयभन्दा चाडपर्वको समयमा दुर्घटनाको सम्भावना धेरै हुन्छ’, प्रहरी प्रमुख केसीले भने, ‘यात्रु तानातान गरेर झै-झगडा गर्ने, गति सीमित नहुने हुँदा दुर्घटना बढ्ने भएकाले प्रहरीले सक्रियता बढाएको हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell