PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बुटवलको आम्दा अस्पतालको स्तरोन्नति गरिने, २ सय शय्या थपिँदै



पहिलोपोस्ट

बुटवलको आम्दा अस्पतालको स्तरोन्नति गरिने, २ सय शय्या थपिँदै

बुटवल : बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति हुने भएको छ। बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो।

एसोसिएसन अफ मेडिकल डक्टर्स अफ एशिया ईन्टरनेशनलका अध्यक्ष डा सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको हो।

आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नम्बर ७ (साविक वडा नम्बर ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को स्थापना गरिएको थियो। ५० शय्याबाट सुरु भएको उक्त अस्पतालमा हाल सय शय्या सञ्चालन भइरहेको छ।

अस्पतालका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले अस्पताललाई ३ सय बेडको बनाउने र विशिष्टिकृत सेवा प्रवाह गर्ने निर्णय गरेको बताए। अस्पतालको स्तरोन्नतिका लागि बुटवल उपमहानगरपालिका, आम्दा र बुटवल उद्योग वाणिज्य संघले पहल गर्ने गरी समझदारी भएको उनले बताए। उनले महिला र बालबालिकाको स्वास्थ्य उपचारमा सबै खालका सुविधासहितको अस्पतालका रुपमा स्तरोन्नति गर्ने जानकारी दिए।

समझदारीका क्रममा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा सुगानामीले आम्दाले बुटवलमा अस्पताल स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने बताए। उनले अस्पतालमा बेड थप गर्ने मात्रै नभई अन्य सुविधा थप गर्ने गरी त्रिपक्षीय सहकार्य हुने बताए।

आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दासले आम्दाले बुटवलको अस्पताललाई स्तरोन्नति गर्नका लागि आवश्यक सहकार्य गर्ने र श्रोत तय गर्नका लागि भूमिका निर्वाह गर्ने बताए।

अस्पतालको अर्को साझेदार संस्था बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले अस्पताल स्तरोन्नति गर्न आवश्यक रहेको र संघले पर्याप्त भूमिका निर्वाह गर्ने बताए। उनले अस्पतालको स्तरोन्नति भएपछि बुटवल क्षेत्रमा एउटा विशिष्टीकृत सेवा भएको स्तरीय अस्पताल हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell