PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरिने



पहिलोपोस्ट

लुम्बिनीका विद्युतीय गाडीको यान्त्रिक परीक्षण गरिने

बुटवलः लुम्बिनी विकास कोषले यही असोज १५ गतेदेखि विद्युतीय गाडीको यान्त्रिक परीक्षण गर्ने भएको छ। मंगलबार बसेको कोषको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैंको अवसरमा ५ दिन चार्जिङ स्टेशन र गाडीहरुको मेसिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको हो।

असोज १५ देखि ५ दिनसम्म अफिसियल परीक्षणसमेत हुनेगरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने निर्णय गरिएको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए। 

सचिवालय बैठकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीको सहयोग लिने निर्णय गरेको छ। बस सञ्चालनका लागि कोषका बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा जावेद अख्तर र धर्मेन्द्र पाल सदस्य रहेको संयोजन समिति गठन गरेको छ।

कोषले यसअघि लुम्बिनीमा रहेका विद्युतीय गाडी सञ्चालनका लागि कोषाध्यक्ष भट्टराईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले कोषका अध्यक्ष तथा नागरिक उडडयन तथा पर्यटन मन्त्री जीवनराम श्रेष्ठलाई भदौ १२ गते प्रतिवेदन बुझाइएको थियो। कोषको भदौ २३ गते बसेको कार्यकारिणी बैठकले कार्यविधिलाई अर्को बैठकले पास गर्ने निर्णय गरेको कोषाध्यक्ष भट्टराईद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ। कोषले दशैंमा विद्युतीय बस सञ्चालन गर्ने तयारी गरेको थियो।

घटस्थापनको समय गुज्रेपछि आलोचना बढनु स्वभाविक भएको बताउँदै पर्यटन मन्त्रालयले कोषलाई पत्रद्वारा हस्तान्तरण गरेपनि यात्रु बोक्न सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेटमा गाडीको नामसारी नहुँदा ढिलाई भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘हामीले एक महिना अघिदेखि प्रदेश पर्यटन र यातायात कार्यलयमा नम्बर प्लेट परिवर्तनमा निवेदन पेश गरेका थियौं, पर्यटन दिवसकै दिन प्रदेश पर्यटन मन्त्रालयले हरियो प्लेटका लागि सहमति प्रदान गरेको छ’ कोषाध्यक्ष भट्टराईले सचिवालय बैठकपछि जारी विज्ञप्तीमा भनेका छन्, ‘यातायात कार्यलयबाट नामसारी भएपछि आवश्यक रुट अनुमति लिएर विद्युतीय बस सञ्चालन गरिनेछ।’

 बस तथा भ्यानको तेस्रो पक्षको बीमा गरेपछि अफिसियल परीक्षण र परीक्षण सञ्चालन गरिने कोषले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell