PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

ओलीलाई सन्की भन्दै काँग्रेस नेता मधु आचार्यको प्रश्न : जनताले एमालेलाई किन भोट दिने?



पहिलोपोस्ट

ओलीलाई सन्की भन्दै काँग्रेस नेता मधु आचार्यको प्रश्न : जनताले एमालेलाई किन भोट दिने?

फूलमान तामाङ-

नवलपुर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेकपा एमालेलाई अब कसैले भोट नदिने दाबी गरेका छन्। सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका वडा ४ कार्यसमितिले आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले उक्त दाबी पेश गरेका हुन्।

'जनताले दिएको मतलाई लत्याए। कोही नेतालाई सनक चढ्यो भन्दैमा जतिखेर भाँडभैलो गर्दै हिँड्नेलाई भोट हाल्ने हो त हामी? हैन भन्नुहोला,' आचार्यले भने, 'पछि संसद पुनस्थापना भयो। तर चल्न दिएन नौ नौ महिना। दुनियाँमा नौ नौ महिना कतै छैन संसद अवरुद्ध भएको। त्यही ओली नामक सनक डबलीमात्र गरी देखाए। दुई दुई पटक संसद विघटन गर्नेलाई अब कसले भोट हाल्छ?' स्थानीय निर्वाचनमा जनताले देखाइदिएपछि एमाले संसदमा लुसुक्क बस्न थालेको उनको तर्क थियो।

उनले दशैंलगत्तै चुनावी चाड आएको उल्लेख गर्दै गठबन्धनको उम्मेदवारलाई जिताउन आग्रह गरे। 'मंसिर ४ गते राजनीतिक चाड आउँदैछ। त्यो चाडमा कांग्रेसका उम्मेदवार र गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउनुहोला।'

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका राष्ट्रिय महासंघका महासचिव एवम् इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले दशैंको शुभकामना दिँदै चाडपर्वले मेलमिलापको सन्देश दिने बताए। तामाङले नीति बनाउने नै राजनीति भएको उल्लेख गर्दै जनताको नाममा जनताको लागि राजनीति नहुनु हाम्रो दुर्भाग्य भएको बताए। स्थानीय निर्वाचन कांग्रेसको पक्षमा नआउनु आफ्नो लागि दुखद भएको उल्लेख गर्दै प्रदेश र संघमा चुक्न नहुने बताए। 'संघमा हामीले सिंहदरबारमा हाम्रो समस्या सुनाउन सक्ने प्रतिनिधि पठाउने बेला आउँदैछ। स्थानीय निर्वाचनमा चुकेपनि अर्को अवसरलाई हामीले गुमाउनुहुन्न,' तामाङले भने।

यता कांग्रेसका युवा नेता बिलबहादुर तामाङले सम्बन्धित क्षेत्रको नेतालाई मात्रै संघीय चुनावमा उम्मेदवार बनाउनु पर्ने बताए। यता कांग्रेस नेता राजेन्द्रमान ताल्चाभँडेलले क्षेत्र २ को संघमा जित्न स्थानीय नेताहरु मिल्नुपर्ने बताए। उनले आयातित नेताहरुलाई ठाउँ दिन नहुने तर्कसमेत राखे।

कांग्रेस इन्द्रावती -४ का वडासभापति एवम् वडाध्यक्ष क्षेत्रबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा कांग्रेसमा जीवन समर्पण गरेका ६५ जनालाई सम्मान गरिएको थियो। कार्यक्रममा गायक आश्मान लोप्चन र तेज थिङको प्रस्तुतिसमेत रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell