PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै



वसन्तराज उप्रेती

उडान संख्या बढ्दा एयर ट्राफिक कन्जेसन : आन्तरिक उडान मध्यरातसम्मै संचालन हुँदै

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट देशको कुनै पनि गन्तव्यमा जान लाग्नुभएको छ भने पहिले आफूले टिकट लिएको वायुसेवा कम्पनीलाई फोन गर्नुस्। जहाजहरुको समय सरेर पूर्वनिर्धारितभन्दा ढिला भएको छ।

दशैंमा जहाजको माग वृद्धि भएपछि वायुसेवाहरुले उडान थपेका छन्। यस्तोमा पर्वतीय क्षेत्रका केही उडान हुन नसक्दा उनीहरुका कारण आन्तरिकतर्फको सेवा नै प्रभावित भएको छ। दुई दिनयता विमानस्थलमा ट्राफिक कन्जेसन वृद्धि भएको हो।

आन्तरिकतर्फका जहाज दुई घण्टासम्म डिले हुन थालेको छ। यसले गर्दा विमानस्थलमा यात्रुको थामिनसक्नु भीड छ। जहाजका टिकट महँगा छन्, तैपनि यात्रुको संख्या नघटेको विमानस्थलमा उडान पर्खिरहेकाको भीडले देखाउने विमानस्थल कर्मचारी बताउँछन्।

वायुसेवा कम्पनीहरुले उडान ढिला हुँदा मध्यरातसम्म उडान गरिरहेका छन्। उडान डिलेले कम्पनीहरुले व्यवस्थापनमा चुनौती सामना गरिरहेका छन्। आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध, यती, श्री, सौर्य, गुण, सिता, समीट, तारा लगायतले उडान गर्दै आएका छन्।

मौसमी प्रतिकूलता र एयर ट्राफिक वृद्धिका कारण उडान डिले हुँदा बुद्ध एयरले राती ११:३० बजेसम्म उडान गर्दै आएको सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले बताए।

'हिजोको डिले रिपोर्ट हेर्ने हो भने अधिकांश गन्तव्यमा कम्तीमा डेढ घण्टा डिले भइरहेको छ,' उनले भने। बुद्धका नियमित उडान नै पर्याप्त हुने भएकाले दशैंका लागि भनेर नथपेको उनले बताए। बुद्धले दैनिक १४० वटा उडान गर्दै आएको उनले जानकारी दिए।

दैनिक १९ वटा उडान गर्दै आएको श्री एयरलाइन्सले एयर ट्रफिककै कारण उडान डिले हुँदै आएको जनाएको छ। 'ठूला जहाजले धेरै उडान गर्दै आएका कारण हामीले उडान संख्या बढाएका छैनौं। तर, ट्राफिक बढेकाले राति करिब १० बजेसम्म हामीले सेवा दिँदै आएका छौं,' कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने।

दैनिक चार उडान गर्दै आएको गुण एयरलाइन्सले एक सातायता १२ वटा उडान गर्दै आएको छ। यात्रु माग वृद्धि भएसँगै संख्या थपेको हो।यतिखेर प्रत्येक उडान डेढदेखि दुई घण्टासम्म डिले हुँदै आएको प्रवक्ता प्रज्जवल थापाले बताए। 

उनका अनुसार तुम्लिङटार, विराटनगर, भरतपुर लगायतका गन्तव्यमा उडान चाप धेरै छ। 'यात्रुले टिकट काटिसकेका छन्, सेवा दिनै पर्‍यो।राति साढे ११ बजेसम्म उडान हुँदै आएको छ,' उनले भने।

सौर्य एयरलाइन्सले यसअघि दैनिक ६ वटा उडान गर्दै आएको थियो। यात्रु माग वृद्धि भएसँगै उडान संख्या नौवटा पुर्‍याएको बजार प्रमुख मुकेश खनालले बताए। 'ट्राफिक कन्जेसन वृद्धि भएको छ। हवाई भाडा अलि महँगो भए पनि यात्रु घटेको छैन। तर, उडान डिलेका कारण मध्यरातसम्म सेवा सञ्चालन हुँदै आएको छ,' उनले भने।

आन्तरिकतर्फ मंगलबारमात्र १२६ अराइभल र १२४ डिपार्चरमार्फत कुल साढे ११ हजार यात्रुले सेवा लिएका छन्। सामान्यतया आन्तरिकतर्फ कुल २१० उडान-अवतरणमार्फत करिब नौ हजार यात्रुले सेवा लिँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए।

'चाडवाडका कारण भएको यात्रु बढे। फ्लाइटको ट्राफिक ग्रोथले डिले भइरहेको हो। लुक्ला उडान अवरोध हुँदा विहानैदेखि उडान डिले हुँदै आएको छ। हामीले यात्रु व्यवस्थापनलाई मध्यनजर गर्दै खाली ठाउँ व्यवस्थापन गरेका छौं,' उनले भने। 

यसैगरी अन्तर्राष्ट्रियतर्फ हिजो अराइभल ४३ वटा र डिपार्चर ४१ गरी कुल ८४ वटा उडान अवतरणमार्फत साढे १२ हजार यात्रुले सेवा लिएका छन्। सामान्यतया अन्तर्राष्ट्रियतर्फ कुल ६५ वटा उडानमार्फत आठ हजार यात्रुले सेवा लिँदै आएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell