PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

उपत्यका ट्राफिक प्रहरीको दशैँ सुरक्षा योजना : २४सै घण्टा सडकमा प्रहरी, मापसे र सार्वजनिक सवारीलाई कडाइ



पहिलोपोस्ट

उपत्यका ट्राफिक प्रहरीको दशैँ सुरक्षा योजना : २४सै घण्टा सडकमा प्रहरी, मापसे र सार्वजनिक सवारीलाई कडाइ

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दशैँ लगायत चाडपर्व सुरक्षा योजना सार्वजनिक गरेको छ।

बुधवार कार्यालयमा पत्रकार सम्मेलन गर्दै दशैँ, तिहार र छठ पर्वका अवसरमा गरिने सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालक र सार्वजनिक यातायातमा हुने ट्राफिक नियम उल्लङ्घनका घटनालाई कम गर्न ट्राफिक प्रहरीले प्राथमिकतामा राखेको छ।

सुरक्षा योजनाअनुसार प्रहरी उपरीक्षक (एसपी)को कमान्डमा ट्राफिक प्रहरी परिचालन गर्ने भएको छ। सादा र सिभिल पोसाकमा गरेर काठमाडौं उपत्यकाभित्र १ हजार ४ सय ६८ ट्राफिक प्रहरी दैनिक फिल्डमा खटिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र प्रसाद भट्टराईले बताए। हाल काठमाडौं उपत्यकाभित्र ११ सय ट्राफिक प्रहरीको दरबन्दी भएपनि १७ सय ट्राफिक प्रहरी कार्यरत रहेका छन्।

चाडपर्वमा हुने ट्राफिक नियम उल्लङ्घनलाई मध्यनजर गर्दै तीन जिल्लाहरूमा ७१ स्थानमा चेकिङको व्यवस्था गरिएको छ। दिउँसो समयमा पनि मापसे चेकिङ हुने भएको छ। यसअघि ट्राफिक प्रहरीले नियमित ३६ स्थानमा चेकिङ गर्दै आएको थियो। त्यस्तै, शहरका भित्री बस्ती र सडकमा पनि ट्राफिक प्रहरीलाई परिचालन गरिएको एसएसपी भट्टले जानकारी दिए।

यसरी खटिएका ट्राफिक प्रहरीले मापसे, सार्वजनिक सवारीमा बढी यात्रु राख्ने, तीव्र गति, लेन अनुशासन लगायतका बारेमा अनुगमन तथा कारबाही गर्नेछ। त्यस्तै, काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रिने नाकामा लामो दुरीका सार्वजनिक सवारीमा दुई जना चालक राखेको नराखेको विषय प्राथमिकतामा राखेर चेकिङ गर्ने भएको छ।

चौविसै घण्टा ट्राफिक प्रहरी सडकमा खटिने एसएसपी भट्टले बताए। त्यस्तै, उपत्यका नाका बाहिरिने एक नाकामा लागुऔषध सेवन गरेर सवारी चलाए नचलाएको समेत परीक्षण गरिने भएको छ।

दशैँमा घर जानको लागि यात्रुसँग बढी भाडा लिने चालक, व्यवसायीहरूको समेत निगरानी बढाएको छ। जसको लागि सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। यात्रुको गुनासो सुन्नको लागि १४ स्थानमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरिसकेको एसएसपी भट्टले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell