काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताएका छन्। आज वरिष्ठ उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गरेका उनले राष्ट्रपति र प्रधानमन्त्रीले इमान्दारितापूर्वक काम गर्न नसकेको आरोपसमेत लगाए।
‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौँ। जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो। त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन। जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन’, उनले भने, ‘देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो। समाज विकृत भयो। देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो।’
उनले संघीयता धान्न नसकिने अवस्थामा पुगेको उल्लेख गर्दै भने, ‘आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन। भौगोलिक रुपमा त झन संघीयता धान्ने नसकिने गम्भीर विषय हो।’
यस्तै, उनले आफूमा भन्दा बढी सत्तारुढ नेपाली कांग्रेसमा विचलन आएको आरोप लगाएका थिए।
सोही कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न निर्वाचनमा राप्रपा पहिलो पार्टी बन्नेमा आफू विश्वस्त भएको बताएका थिए। गएका निर्वाचनहरु सीमित नेताहरुले बन्धक बनाएको उनको आरोप थियो। उनले अब ती नेताको कब्जाबाट देशलाई मुक्त गर्नुपर्ने बेला आएको बताएका थिए।
अहिले लुटतन्त्र चलिरहेको भन्दै उनले जनताले विकल्प खोजिरहेको बताए। राजनीतिमा विकल्प खोज्दै हिँडेका रवीन्द्र पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘राप्रपा अघि बढी सक्यो, यसलाई रोक्न सकिँदैन।’
कार्यक्रममा राप्रपाका नेता पशुपति शमशेर जबराले नेपालीहरु सबै मिलेर ठूला पार्टीहरुको ब्रह्मलुट अन्त्य गर्नुपर्ने बताए।
उनले भने, ‘हामी सबै मिलेर ठूला पार्टीहरुको ब्रह्मलुट अन्त्य गर्नुपर्नेछ। यो अति भयो, नेपाली जनताले यस्तो समस्या सहने कुराको अन्त्य हुन आवश्यक छ।’
आगामी निर्वाचन देशको भविष्यको निर्वाचन भएको भन्दै उनले थपे, ‘यसपालिको चुनाव चानचुने चुनाव होइन, यो मुलुकको भाग्य ठेगान गर्ने चुनाव हो। यो पालि अरुबेला जस्तो होइन, फेरबदल गर्ने हो। धेरै वर्ष अघि एउटा ठूलो आशा लिएर महाकाली सन्धी गरेको थिएँ। यत्तिका वर्ष त्यो थन्कियो। यो पाली त्यो पुरानो तागत दराजबाट निकाली यसलाई स्वरुप दिने रुपमा अघि बढ्नेछौँ। हामी सबै मिलेर पञ्चेश्वरलाई मूर्त स्वरुप दिनेछौँ। अब पञ्चेश्वर मात्रै होइन, पश्चिम सेती लगायतका योजनालाई पनि मूर्त रुप दिनेछौं। यो मुलुक अब विकासको छायाँमा रहन सक्दैन। अब यो मुलुकलाई उज्योलो दिनुपर्छ।’