PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ब्राजिलका फुटबल फ्यानहरु किन हिचकिचाउँदैछन् पहेंलो जर्सी लगाउन? यस्तो छ पहेंलो जर्सीमाथिको राजनीतिको कथा



पहिलोपोस्ट

ब्राजिलका फुटबल फ्यानहरु किन हिचकिचाउँदैछन् पहेंलो जर्सी लगाउन? यस्तो छ पहेंलो जर्सीमाथिको राजनीतिको कथा
फोटोहरु : CNN/Reuters/Football Museum

कोरोना भाइरसको संक्रमण फैलन कम भएपछि यात्राका लागि प्रतिबन्धहरु हटिसकेका छन्, साथसाथै फिफा विश्वकप नजिकिँदै छ। त्यसैले ब्राजिल फुटबल टोलीका उत्साही समर्थक हिगोर रमाल्हो फुटबल रंगशालाहरूमा आफ्नो नियमित यात्राहरू पुन: सुरु गर्ने योजनामा छन्।

ब्राजिलको पहेँलो जर्सी सन् २०१८ को जुन महिनादेखि उनको कोठामा झुण्डिएको छ। पछिल्लो पटक उनले यो जर्सी आफ्नो जन्मदिनमा लगाएका थिए। तर उनलाई थाह छैन अब यो जर्सी फेरि कहिले लगाउने छन्।

'यो जर्सी लगाउनु कुनै समय मेरा लागि गर्वको कुरा थियो,' ३३ वर्षे उनले अलजजिरासँग भनेका छन्, 'यो जितको प्रतीक थियो। म यो जर्सी खेलहरु हुँदामात्र होइन, नियमितजस्तो लगाउने गर्थेँ। तर, आजकल राजनीतिक कारणले मैले यो जर्सी लगाउन छाडेको छु। हालका राष्ट्रपति र उनका समर्थकले यो जर्सीलाई उनीहरुको राजनीतिक अभियान र उनीहरुको राजनीतिक पार्टीको संकेतका रुपमा प्रस्तुत गरिरहेका छन्।'

तर हिगर उक्त राजनीतिक दल मन पराउँदैनन्। 'म उनीहरुको राजनीतिक विचारधारालाई समर्थन गर्दिनँ। म उनीहरुमध्येको बन्ने गल्ती गर्न चाहन्नँ,' उनले भनेका छन्।

पहेँलो जर्सीलाई 'कनरिन्हो जर्सी'समेत भनेर चिनिन्छ। यो ब्राजिलको टोलीले लगाएको पहिलो जर्सी भने होइन। सन् १९५० मा रियो दी जेनेरियोमा भएको विश्वकपको फाइनलमा पराजय ब्यहोरेको तीन वर्षपछि डिजाइन गरिएको थियो। त्यसबेलाको विश्वकप ब्राजिलले सेतो जर्सीमा खेलेको थियो। सन् १९५३ मा ब्राजिलको फुटबल संघले त्यतिबेलाको देशको राष्ट्रिय झण्डाको रंगको मर्म नबोकेको भन्दै नयाँ डिजाइनका लागि आवेदन खोलेको थियो। यसमा ३ सय बढी आवेदन परेका थिए। जसमा एल्डैर ग्रासियाको डिजाइन छनोट भएको थियो।

त्यसपछि ब्राजिली फुटबलको लय अझ उत्कृष्ट देखिँदै गयो। पाँच विश्वकप र कोपा अमेरिका जित्दै गर्दा पहेँलो जर्सी आशा, भाग्य र फुटबल समर्थकबीचको 'संकेत'का रुपमा विकसित हुँदै गयो।

जर्सी १० पेलेले मैदानमा मन्त्रमुग्ध पार्ने खेल कौसल देखाउँदा लगाउँथे भने जर्सी ९ लगाएका रोनाल्डो विश्वकप जित्दा चर्चामा रहे। त्यस्तै सन् १९९४ ताका रोमेरोको जर्सी ११ त्यतिकै चर्चामा रह्यो। यी सबै सफलतामा पहेँलो जर्सी साक्षी रह्यो।

तर, अहिले कथा फेरिएको छ। राजनीतिक अभियानहरूमा पहेँलो जर्सीको प्रयोग भइरहेको छ। खासगरी हालसालै राष्ट्रपति जैर बोल्सोनारो र उनका दक्षिणपन्थी समर्थकहरूले २०१८ को चुनाव जित्नुअघि, ठूलो संख्यामा प्रशंसकहरूलाई जर्सी त्याग्न बाध्य तुल्यायो। विश्लेषकहरुले ब्राजिली फुटबलको गौरवमय इतिहास र एकताको संकेतका रुपमा लिइएको जर्सीलाई राजनीतिक रङ दिनु राम्रो नभएको तर्क गर्दै आएका छन्।

'फुटबल ब्राजिलको लागि प्रतिष्ठित चीज हो, यसले सबैलाई धेरैजसो समयसँगै ल्याउँछ,' २५ वर्षे इजाबेला गुइडेसले भनिन्।

'जब तिनीहरू (दक्षिणपन्थी समर्थकहरूले) देशको लागि कुनै अर्थपूर्ण कुरा लिन्छन् र राजनीतिमा प्रयोग गर्छन् भने यो उनीहरूले हामीबाट चोरेको जस्तै हो,' उनी भन्छिन्, 'म विश्वकपमा मेरो झ्यालमा झण्डा झुण्ड्याउन सहज महसुस गर्दिनँ किनभने पूर्णतया फरक राजनीतिक विचारका लागि यो गलत हुनेछ।'

उनी अगाडि भन्छिन् : झण्डा र पहेँलो जर्सी लिएर उनीहरुले राजनीतिक प्रतीकका रुपमा प्रयोग गरेका छन्।

जर्सीको राजनीतिक प्रयोगको सुरुवात बोल्सेनारो र उनका समर्थकले सुरु गरेका भने होइनन्। सन् १९७० ताका सैन्य शासकले पनि टिमको इमेज र जर्सीको उपयोग गरेको ल्याब्रोटरी अफ मिडिया एण्ड स्पोर्ट्स स्टडिजका अध्येता कारोलिना फोन्टेनेली बताउँछिन्। ब्राजिलका तत्कालिन सैन्य शासक जेनरल मेनिचिले सन् १९७० को मेक्सिको विश्वकपमा राष्ट्रिय टोलीको प्रशिक्षक हटाउनसमेत ठूलो भूमिका खेलेको बताइन्छ।

'समयको साथमा यी प्रयासहरूबीच ब्राजिलियनहरू र उनीहरूको टोलीको जर्सीबीच एक बलियो 'बोन्डिङ' बन्यो,' उनी भन्छिन्,' त्यसबेलादेखि, पहेंलो जर्सीलाई प्रतीकको रूपमा मानिन्छ। मानिसहरू त्यो जर्सी हेर्छन् र गर्वका साथ लगाउँछन् किनभने तिनीहरू समूहको हिस्सा महसुस गर्छन्।'

सन् २०१३ ताका ब्राजिलमा जीवनको लागतमा वृद्धि, भ्रष्टाचार र प्रहरी क्रूरताको विरोध गर्दै मानिसको एउटा समूह आन्दोलनमा उत्रियो।

'आन्दोलनमा संलग्न व्यक्तिहरूले पहेँलो जर्सी लगाएका थिए। २०१४ को विश्वकपमा खर्च भएको पैसालगायत धेरै कुराको विरोध गर्दै सडकमा मानिसहरु ठूलो संख्यामा थिए,' फोन्टेनेली भन्छिन्। उनी सन् २०१८ मा पहेँलो जर्सीलाई 'सिम्बोल' बनाएकाहरु दक्षिणपन्थी भएको आरोप लगाउँछिन्।

उनी भन्छिन्, 'त्यसैले यसमा सहमत नहुनेलाई यसमा लाज लाग्छ। जर्सीले तपाई त्यही समूह हो भन्ने भावना दिन्छ।'

सन् २०१४ ताको चुनावको समयमा एसियो नेभ्सको अभियानले ब्राजिलको झण्डाको रंगहरू अपहरण गरेको आरोप उनी लगाउँछिन्।

झण्डा फिर्ताको अभियान

दुई वर्षअघि मात्रै लेखक तथा फिल्म निर्माता जोआओ कार्लोस एस्सम्पकाओको नेतृत्वमा एउटा अभियानले राष्ट्रिय फुटबल निकायलाई प्रसिद्ध पहेंलो जर्सी खारेज गर्न र सेतो र निलो किट फिर्ता ल्याउन माग गरेको थियो।

'हामी हाम्रो झण्डा चोर्ने डरलाग्दो सरकारको साथ एक भयानक स्थितिमा छौं,' एस्सम्पकाओले त्यस समयमा भनेका थिए।

त्यस्तै फोल्हा डे साओ पाउलो अखबारसहित धेरै प्रजातन्त्र समर्थक समूहहरूले रङलाई दक्षिणपन्थी अभियानसँग अलग गर्ने प्रयास गरेका थिए। यो विषयले अदालतदेखि संसदसम्मै स्थान पायो।

#DevolvamNossaBandeira (#GiveBackOurFlag) लाई धेरै राजनीतिक व्यक्तित्वहरूको समर्थन पनि प्राप्त भयो।

'फुटबल सबैका लागि हो, मलाई यो (जर्सी) जातिवाद, लिंगवाद र भेदभावलाई बढावा दिने मानिसहरूले प्रयोग गरेको मन पर्दैन,' साओ पाउलोको फुटबल संग्रहालयका लाइब्रेरियन र इतिहासकार अडेमिर टाकाराले अल जजिरालाई भने।

'यो जर्सीले एकताको प्रतिनिधित्व गर्दछ र यो सही उद्देश्यका लागि प्रयोग भइरहेको छैन। त्यहाँ मानिसहरू र जर्सीबीच एक स्नेहपूर्ण सम्बन्ध छ,' उनी भन्छन्, 'सन् २०१३ यता यो पहिलेभन्दा धेरै राजनीतिक विषय भएको छ। यसलाई विभिन्न विचार भएका मानिसहरूले प्रयोग गरिरहेछन्। जसले उनीहरूलाई एकताबद्ध गर्न केही चाहन्थे र जर्सी उनीहरूले देखेको सबैभन्दा सजिलो र बलियो चीज थियो।'

यही महिनाको सुरुमा राष्ट्रपति बोल्सेनारोका समर्थकहरु रियो दी जेनेरियोस्थित कोपागबानासँगै अन्य शहरहरुमा अक्टोबरमा हुने चुनावी अभियानका रुपमा उत्रिए।

उनीहरुमध्ये अधिकांशले पहेँलो जर्सी लगाएका थिए।

ब्राजिलको २०० औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा पूर्व राष्ट्रपति लुइज इनासियो लुलाले अर्को महिना हुने चुनाव जित्ने दाबी पनि प्रस्तुत गरे।   

'७ सेप्टेम्बर ब्राजिलको लागि प्रेम र एकताको दिन हुनुपर्छ। दुर्भाग्यवश, त्यो आज भइरहेको छैन। ब्राजिलले आफ्नो झण्डा, यसको सार्वभौमसत्ता र लोकतन्त्र पुन: प्राप्त गर्नेमा मलाई विश्वास छ,' उनले ट्वीटमार्फत भनेका छन्।

फुटबल प्रशंसक मारिना मोरेनोले जर्सीको लागि मायाबारे कुरा गर्दै पहेंलो जर्सी वर्तमान सरकारको प्रतीक बनेको देखेर आफू निराश भएको बताइन्।

'म वर्तमान सरकारलाई समर्थन गर्दिनँ र म उहाँको एक समर्थकको रूपमा गल्ती गर्न चाहन्नँ, त्यसैले मैले यो जर्सी अब नलगाउने निर्णय गरें,' उनले भनिन्।

अलजजिरामा प्रकाशित सामग्रीको भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell