PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

सरकारी कम्पनीभन्दा निजी क्षेत्रले बेचेका खसीबोका र च्याङ्ग्राको मूल्य सस्तो



सरला सुवेदी

सरकारी कम्पनीभन्दा निजी क्षेत्रले बेचेका खसीबोका र च्याङ्ग्राको मूल्य सस्तो

काठमाडौं : सरकारी कम्पनीमा भन्दा निजी क्षेत्रमा खसीबोकाको मूल्य सस्तो पर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालन गरिरहेको सुपथ बजारमा बिक्री गरिरहेको खसीबोकाको मूल्य निजी क्षेत्रको भन्दा केही महँगो भएको छ।

खाद्य कम्पनीले प्रतिकेजी १० रुपैयाँ छुट दिएर जिउँदो खसीबोका ६ सय ७० रुपैयाँमा बेचिरहेको छ। यता निजी क्षेत्रका व्यवसायीहरुले प्रतिकेजी ६ सय ५० रुपैयाँदेखि ७ सय रुपैयाँ छ।

त्यसैगरी, खाद्य कम्पनीले च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२ सय ५० र निजी क्षेत्रले १२ सयदेखि १३ सय रुपैयाँ छ। च्याङ्ग्रा गुणस्तर हेरेर उपभोक्ताले प्रतिकेजी १२ सय रुपैयाँसम्म खरिद गर्न सक्ने केन्द्रले जनाएको छ। खाद्य कम्पनीमा भने उपभोक्ताहरुले सबै खालको च्याङ्ग्रा प्रतिकेजी १२ सय ६० रुपैयाँमा किन्नुपर्ने बाध्यता छ।

निजी क्षेत्रले तोकेको मूल्यमा पनि उपभोक्ताले थप सहुलियत पाउने काठमाडौं चौपाया खरिद बिक्री केन्द्रले जनाएको छ। यसरी हेर्दा खाद्य कम्पनीले बेच्ने खसीबोकाको मूल्य ‘फिक्स्ड प्राइस’ देखिन्छ। तर, निजी क्षेत्रले बेचिरहेको खसीबोका भने बार्गेनिङ गरेर उपभोक्ताहरुले थप सस्तोमा पाउने अवस्था छ।

सरकारी र निजी कम्पनीले हरेक वर्ष दशैँको समयमा ठूलो परिमाणमा खसीबोका र च्याङग्रा बिक्री गर्दै आएका छन्। खाद्य कम्पनीले हरेक वर्ष मुस्ताङबाट च्याङ्ग्रा ल्याएर बिक्री गर्ने गरेको छ। यो वर्ष भने कम्पनीले दार्चुलाबाट पनि च्याङ्ग्रा काठमाडौं झारेको छ। यसपटक खाद्य कम्पनीले दार्चुलाको अपी सैपाल हिमाली क्षेत्रबाट च्याङ्ग्रा काठमाडौं ल्याएको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिए।

कम्पनीले पहिलोपटक सुदूरपश्चिमबाट च्याङग्रा खरिद गरेर बिक्री गरिरहेको उनले बताए। मुस्ताङमा च्याङ्ग्रा महँगो भएको भन्दै खाद्य कम्पनीले सुपथ मूल्य पसलमा च्याङ्ग्रा बिक्री नगर्ने योजना बनाएको थियो। तर, पछि दार्चुलाको एक सहकारीसँगको सहकार्य गर्ने कुराकानी भएपछि च्याङ्ग्रा बेच्ने निर्णय भएको खनालले दाबी गरे।

‘मुस्ताङको च्याङ्ग्रा महँगो भएपछि काठमाडौं ल्याएर बेच्न सक्ने अवस्था भएन। हामीले दार्चुलाको एक सहकारीसँग कुराकानी गर्‍यौँ। त्यहाँ केही सस्तो देखिएपछि यसपाली हामीले च्याङ्ग्रा नल्याउने निर्णयबाट पछि हट्दै दार्चुलाको च्याङ्ग्रा रोजेका हौँ,’ खनालले भने, ‘दार्चुलाको जिल्ला प्रशासन कार्यालयले च्याङ्ग्राको बिक्री र खरिद मूल्य निर्धारण गरेपछि सहकारी मार्फत च्याङ्ग्रा खरिद गरेर ल्याएको हौँ।’

जसमा कम्पनीले च्याङ्ग्रा प्रतिकेजी ११ सय ५० रुपैयाँमा खरिद गरेर उपभोक्तालाई प्रतिकेजी १२ सय ५० रुपैयाँमा बिक्री गर्न शुरु गरिएको खाद्य कम्पनीले जनाएको छ। यो वर्ष कम्पनीले ५ सय च्याङ्ग्रा र १८ सय खसीबोका बिक्री गर्ने निर्णय गरेको थियो। उपभोक्ताको माग अनुसार परिमाण थपघट हुन सक्ने खाद्य कम्पनीले जनाएको छ।

त्यस्तै, निजी क्षेत्रले पनि हिजोदेखि खसीबोका र च्याङ्ग्रा ल्याउन थालेका छन्। दशैँलाई लक्षित गर्दै काठमाडौं चौपाया खरिद बिक्री केन्दले मंगलवारदेखि नै च्याङ्ग्रा र खसीबोका ल्याउन शुरु गरेको अध्यक्ष जनकराज खड्काले बताए। खसीबोका र च्याङ्ग्राको मूल्य समेत निर्धारण भइसकेको उनले जानकारी दिए। जिउँदो खसीबोकाको प्रतिकेजी मूल्य ६ सय ५० रुपैयाँदेखि ७ सय रुपैयाँ तोकिएको खड्काले बताए।

च्याङ्ग्रा भने निजी क्षेत्रले प्रतिकेजी १२ सय ५० देखि १३ सय रुपैयाँसम्ममा बिक्री गरिरहेको उनले बताए। यो वर्ष खसीबोकाको र च्याङ्ग्राको मूल्य खासै नबढेको दाबी उनले गरे। गत वर्षकै हाराहारीमा मूल्य निर्धारण भएको बताइएको छ।

‘स्थानीयस्तरमा महँगो भएपनि गुणस्तर अनुसार च्याङ्ग्राको मूल्य तोकिएको छ। उत्पादन कम र हचुवाको भरमा मूल्य महँगो भनिएको थियो। हामीले च्याङ्ग्रा हेरेर बजारमा बिक्री गर्न सक्ने मूल्य तोकेका छौं,’ खनालले भने।

दशैँका लागि करिब २५ हजार खसीबोका र २ हजारभन्दा बढी च्याङ्ग्रा ल्याउने तयारी छ। खसीबोका र च्याङ्ग्राको माग महाअष्टमीबाट अत्यधिक हुने भएकाले अहिलेनै बजारमा उल्लेख्य रुपमा व्यापार नभएको व्यापारीहरुले बताएका छन्। दशैँले अझै छोप्दै गएपछि माग बढ्ने अपेक्षा व्यवसायीहरुको छ।

खसीबोका र च्याङग्रा बजारमा भित्रिने क्रम जारी रहेका एक दुई दिनमा खसीबोकाको माग बढ्ने खड्काले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell