PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

लुम्बिनीमा तीन वर्षदेखि थन्किएका विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु



रमेश पराजुली

लुम्बिनीमा तीन वर्षदेखि थन्किएका विद्युतीय बसको यान्त्रिक परीक्षण शुरु

बुटवल : लुम्बिनी बिकास कोषले तीन वर्षदेखि बेवारिसे अवस्थामा रहेका विद्युतीय बसको बिहीवारदेखि यान्त्रिक परीक्षण शुरु गरेको छ। एसियाली विकास बैंक (एडीबी)ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका १४ वटा विद्युतीय भ्यान र पाँच वटा बस तीन वर्षदेखि बेवारिसे अवस्थामा थन्किएर बसेका थिए।

बिहीवार लुम्बिनीबाट बुद्धसँग सम्बन्धित देवदह, रामग्राम, कपिलवस्तुसहितका पाँच वटा रुटमा पाँच वटा बस सञ्चालनमा आएका हुन्। बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको सरोकारवालाहरुको बैठकले बिहीवारदेखि बिजुली बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो।

बिहीवार लुम्बिनीमा लुम्बिनी विकाष कोषका पदाधिकारीहरु, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, पर्यटन व्यवसायीको उपस्थितिमा बिजुली बस सञ्चालनमा आएको लुम्बिनी विकास कोषका कोषध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए।

‘यो परीक्षण सञ्चालन हो, यस अवधिमा हामीले निःशुल्क बस संचालनमा ल्याएका छौँ। केही समयपछि हामीले शुल्क निर्धारणसहित औपचारिक शुभारम्भ गर्दछौँ,’ भट्टराईले भने।

बसहरू लुम्बिनी एयरपोर्ट बेलहिया हुँदै रामग्राम, लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनीदेखि तिलौराकोट ७ साइट परिक्रमा, लुम्बिनीवरिपरि सटल बस, लुम्बिनीदेखि एयरपोर्ट बेलहिया मणिग्राम हुँदै देवदह, रुटहरूमा सञ्चालन हुनेछन्। बसहरू सञ्चालनका लागि होटेल एसोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र लुम्बिनी विकास कोषले एक/एक बसका चालकहरूको जिम्मेवारी लिएका छन्।

गाडी सञ्चालन हुने सबै रुटहरूको व्यवस्थापनका लागि कोषको सचिवालय बैठकले बोर्ड सदस्य विश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परीक्षण इकाइ गठन गरेको छ। यसअघि कोषाध्यक्ष भटराईको संयोजकत्वमा गठित कार्यदलले विद्युतीय बस सञ्चालन गर्न कार्यविधि बनाएर कोषका अध्यक्षलाई पेस गरिसकेको थियो।

गौतमबुद्ध विमानस्थल निर्माणका लागि ऋण सहयोग गरेको एडीबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुद्ध सर्किट घुमाउने प्रयोजनका लागि अनुदानमा बस र भ्यान उपलब्ध गराएको थियो। विश्व सम्पदास्थलमा सूचीकृत लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न पनि विद्युतीय गाडी अनुदान दिएको थियो।

कोषले सवारीसाधन सञ्चालन गर्न कार्यविधि बनाउनेदेखि अध्ययनसम्म गरेको जनाएको छ। तर, कार्यविधि स्वीकृत हुन सकेको छैन।

कोषले १४ वटा भ्यानहरु भने असोज १५ गतेदेखि परीक्षण सञ्चालनमा ल्याउने तयारी गरेको छ। लुम्बिनी विकास कोषको मंगलवार बसेको सचिवालय बैठकले नम्बर प्लेट परिवर्तन नभए पनि दशैँको उपलक्ष्यमा पाँच दिन चार्जिङ स्टेशन र गाडीहरुको मेशिनरी परीक्षणस्वरुप अफिसियल यान्त्रिक परीक्षणका लागि विद्युतीय गाडी सञ्चालन गर्ने निर्णय गरेको थियो।

गाडी चार्ज गर्न लुम्बिनीमै दुई वर्षअघि सोलार प्लान्ट जडान गरेर चार्जिङ स्टेसन पनि बनाइएको छ। १४ करोडमा निर्माण गरिएको सोलार प्लान्टमा उत्पादित वार्षिक ५४ लाख मूल्यको विद्युतसमेत खेर गइरहेको छ। जब कि कोषले यो विद्युत् कोषभित्रै अन्य प्रयोजनमा खपत गर्न सक्थ्यो वा विद्युत् प्राधिकरणलाई बेच्न पनि सक्थ्यो।

आफ्नो विद्युत् खेर फालेको कोषले प्राधिकरणको वार्षिक ५० लाख मूल्यको विद्युत् प्रयोग गर्छ। कोषको सोलार प्लान्ट प्राधिकरणको वितरण केन्द्रबाट केबल सय मिटरको दूरीमा रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell