PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

यो वर्ष चलेका दशैं तिहार गीतहरु : लाहुरेको संघर्षदेखि फौजीको कथासम्म



पहिलोपोस्ट

यो वर्ष चलेका दशैं तिहार गीतहरु : लाहुरेको संघर्षदेखि फौजीको कथासम्म

काठमाडौं : दशैं सुरु भइसकेको छ। हरेक वर्ष यो चाडलाई लक्षि गरेर महिना दिन अघिदेखि नै गीतहरु सार्वजनिक हुनेगर्छ। यसवर्ष पनि युट्युबमा दर्जनौं दशैंतिहार विशेष गीतहरु सार्वजनिक भएका छन्।

भदौ ३१ गते ओएसआर डिजिटलको अफिसियल युट्युबमार्फत दशैंतिहार गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘आइपुगेँ नेपाल’। हिट गीत ‘कालो केशमा रेलिमाई’ का गायक दिनेश ढकालको यो दोस्रो गीत हो।

प्रगति देवकोटा न्यौपानेको शब्द रहेको गीतमा दिनेशकै संगीत तथा स्वर रहेको छ। लाहुरबाट दशैंमा घर आउने यस रमाइलो गीतलाई दर्शकले रुचाएका छन्। मानव सुवेदीको छायाङ्कन र निर्देशन रहेको भिडियोमा राजन न्यौपाने र पूजा काफ्लेका साथै गायक ढकाल स्वयं पनि फिचर्ड छन्।

त्यसैगरि, ‘दशैं र तिहार आयो हजुर’ बोलको गीत पनि बजारमा आएको छ। राजु परियार र अमृता नेपालीको स्वर रहेको गीतले दशैंतिहार आउँदाको रमाइलो र उमंगलाई समेटेको छ। निरोज भट्टको शब्द रहेको गीतमा रमेश परियारको संगीत छ।

काजिश श्रेष्ठको निर्देशित भिडियोमा सरोज राना प्रजा, विना राउत, अभा थापा, जेभिन जेभिस श्रेष्ठ, लोमश शर्मा, विशाल परियारको अभिनय छ। गीतलाई युट्युबमा २ लाख ३३ हजार दर्शकले हेरेका छन्।

ऋषी खड्का र शान्ति श्री परियारको स्वरमा ‘आयो दशैं -ए परदेशी’ गीत पनि युट्युबमा छ। यसमा सुनिल लामिछानेको शब्द र ऋषि खड्काको संगीत रहेको छ।

गीतको भिडियोमा केकी अधिकारी, सुनिल लामिछाने लगायतको अभिनय छ। विदेश जाँदा भोग्नु परेको पिडा र भेटै नहुने कुरालाई गीतले चित्रण गरेको छ। यस मर्मस्पर्शी गीतलाई दर्शकले युट्युबमा मन पराएका छन्। हालसम्म गीतलाई युट्युबमा ११ लाख २८ हजार बढी भ्यूज आएको छ।

‘दशैं आउँदा गाउँ घरै रमाइलो’ बोलको गीत पनि सार्वजनिक भएको छ। राजु विश्वकर्माको शब्द र संगीत रहेको गीतमा अर्जुन सापकोटा र सम्झना भण्डारीको स्वर सुन्न सकिन्छ।

सम्झना भण्डारी युट्युब अकाउण्डबाट सार्वजनिक गीतलाई पनि रुचाइएको छ। ४ लाख २० हजार बढीले गीतलाई युट्युबमा हेरेका छन्। गीतको भिडियोमा लोमश शर्मा र करिश्मा ढकालको अभिनय छ।

त्यसैगरि, शिशिर भण्डारीको चर्चित गीत ‘फोटो फिरिममा’ दशैंतिहार भर्सन पनि युट्युबमा आएको छ। यस गीतमा शिशिर भण्डारीको शब्द, स्वर र संगीत रहेको छ। विदेशिने बाध्यतादेखि चाडपर्वमा घर आउँन नपाउँदाको पीडा गीतले बोल्छ।

निकै मन पराइएको यो गीत युट्युब ट्रेन्डिङको ११ औँ स्थानमा छ। सन्तोष राजबाहकको निर्देशन रहेको भिडियोमा शिशिरका साथै अभा थापा, दिपेन्द्र सोनम, अनिशा अधिकारी, शर्मिला गौतम अमर बुढाथोकी, अभिनाश गौतमको अभिनय छ।

दशैंतिहार लक्षित गीत ‘दशैं आयो तिहार आयो’ गीत पनि सार्वजनिक भएको छ। अग्नि ज्ञवालीको शब्द रहेको गीतमा योजना खड्की सुरेन्द्र श्रेष्ठ, सोनिशा ताम्राकार, सुनिशा तामाङ लगायतको स्वर छ।

सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतले दशैंतिहारमा साथीभाई र पारिवारसँग भेटघाट हुने कुराहरु समेटेको छ।

त्यसैगरि, ‘टिका टालो- जन्तै जाम्ला भतेरै खाम्ला’ पनि  सार्वजनिक भएको छ। पशुपति शर्माको शब्द र संगीत रहेको गीतमा शर्माका साथै सम्झना भण्डारीको स्वर छ।

दुर्गा पौडेल निर्देशित भिडियोमा पशुपति र सम्झनाका साथै लक्ष्मी गिरी, शेखर घर्ति, करिश्मा ढकालको अभिनय छ। गीतलाई युट्युबमा ४ लाख ७४ हजार बढी भ्यूज आएको छ।

रामजी खाण र टिका पुनको आवाजमा ‘दशैंतिहारमा’ बोलको गीत पनि सार्वजनिक भएको छ। प्रशान्त बिष्टको शब्द र संगीत रहेको गीतले दशैं आउँदा श्रीमतीले विदेशिएका श्रीमानलाई घर बोलाएको कुराहरु समेटेको छ।

गीतको भिडियोमा रमा थपलिया, गीता ढुंगाना र प्रशान्त बिष्टको अभिनय छ। गीतलाई समाचार तयार पार्दासम्म झण्डै ४ लाख दर्शकले हेरेका छन्।

यस्तै, ‘फौजीको बर्दीमा’ दशैंतिहार विशेष गीत पनि सार्वजनिक भएको छ। नरेश एमसीले लेखेका गीतमा रचना रिमाल र धमेन्द्र शाहीको स्वर छ। गीतमा संगीत भने ऋषि खड्काको छ। दशैं आए पनि देशको सेवाको लागि फौजीले खटिनुपर्ने सन्देश गीतले दिएको छ।

‘दशैंमा आउँदैछ साइलो, गाउँघरै रमाइलो’ गीत पनि दशैंको अवसरमा सार्वजनिक भएको छ। विरेन्द्र ढकाल र सुदीप सुनारको शब्द रहेको गीतमा हरि राम बिसी र सानु मगरको स्वर रहेको छ।

गीतको भिडियोमा रञ्जिता गुरुङ, नवराज विमुन, भिमसेन नेपाली र सम्प्रिया खड्काको अभिनय छ।

‘टिका दशैंको’ बोलको दशैंतिहार गीत पनि सार्वजनिक भएको छ। आमाबुवा नहुँदा दशैंतिहार नै खल्लो हुने भाव गीतले समेटिएको छ। धिरेन राजवंशीले लेखेको गीतमा शान्ति श्री परियार र धिरेन राजवंशीको स्वर छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell