PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

इञ्जिनियरिङ एक्सपो हुँदै : रोबटहरुको फुटबल म्याच हुने



पहिलोपोस्ट

इञ्जिनियरिङ एक्सपो हुँदै : रोबटहरुको फुटबल म्याच हुने

काठमाडौं : नेपालमा पहिलो पटक राष्ट्रियस्तरमा बृहत इञ्जिनियरिङ एक्सपो हुने भएको छ। नेपाल र भारतका विभिन्न संस्थाहरुसँगको सहकार्यमा आगामी मंसिर २३ र २४ गते काठमाडौंमा एक्सपो हुन लागेको हो।

इञ्जिनियर्स् भ्लग्स् अर्गानाइजेसनको आयोजनामा हुन लागेको एक्सपोमा रोबटहरुले फुटबल म्याचसमेत खेल्ने छन्। त्यसैगरी, एक्सपोमा रोबो वार अर्थात रोबटहरुबिच फाइट पनि गराइनेछ।

एक्सपोलाई आविस्कारिकसँगै मनोरञ्जनात्मक बनाउन साँस्कृतिक साँझको पनि आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष आषुतोष कर्णले जनाए। उनका अनुसार प्रदर्शनीमा कम्प्युटरको सफ्टवेयर सुरक्षासम्बन्धी ह्याकाथन, विभिन्न कलेज तथा विश्वविद्यालयले तयार पारेका सिभिल, इलेक्ट्रोनिक्स, आर्किटेक्चर प्रोजेक्ट सामाग्रीलगायत प्रर्दशनीमा राखिनेछ।

विशेषगरी इञ्जिनियरिङ संकायमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै प्रदर्शनीमा सिभिल, इलेक्ट्रीकल, मेकानिकल लगायत सबै क्षेत्रका इञ्जिनियरहरुको सहभागिता रहने बताइएको छ।

‘इञ्जिनियरिङ क्षेत्रमा पछिल्लो समय भएको प्रविधिको विकास र यसको प्रयोग कसरी गर्ने भन्ने जानकारी आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरेका हौँ’, अध्यक्ष कर्णले भने, ‘कक्षा १२ देखि नै विद्यार्थीहरुमा इञ्जिनियरिङप्रति रुची बढाउने पनि कार्यक्रमको उद्देश्य हो।’

सातै प्रदेशका क्याम्पस र विश्वविद्यालयमा इञ्जिनियरिङ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहने प्रदर्शनीमा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई नगद पुरस्कारका साथै आइआइटी बम्बईको टेकफेस्ट इन्टरनेशनलमा थप अध्ययनका लागि जाने अवसर प्रदान गरिने अध्यक्ष कर्णले बताए।

८० भन्दा बढी इञ्जिनियरिङसम्बन्धी स्टल रहने प्रदर्शनीमा सहभागिताका लागि दर्ता प्रक्रिया शुरु भइसकेको छ। काठमाडौंको एड्भान्स इञ्जिनियरिङ कलेज, कलंकीमा हुने प्रदर्शनमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell