PahiloPost

Jun 16, 2026 | २ असार २०८३

दैलेखमा प्रहरीको कडाइ : नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा



रासस

दैलेखमा प्रहरीको कडाइ : नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा
फोटो : रासस

दैलेख : दशैँको बेलामा यात्रुलाई सुरक्षित यात्रा गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालयले सवारीसाधन जाँचलाई कडाइ गरेको छ। आज एक सय १० सवारीसाधनमा जाँच गर्दा नियमविपरीत भेटिएका ४३ सवारीसाधन कारबाहीमा परेका हुन्।

दशैँका बेलामा सवारी दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत सवारी चालकहरूलाई यात्रुलाई अनावश्यक हैरानी नदिन, तोकिएको भाडादरभन्दा बढी भाडा नलिन, चालक, सहचालक र यात्रुलाई समेत प्रहरी टोलीले सतर्क गराएको छ।

प्रहरी प्रमुखसहित आठ जनाको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गरेको थियो भने माथिल्लो डुङ्गेश्वर, तल्लो डुङ्गेश्वर, दैलेख, सुर्खेत सडकखण्डको जिरो प्वाइन्ट दुल्लु, राकम कर्णाली राजमार्ग, रानीमत्ता, पाल्तडाका विभिन्न मातहतका प्रहरी चौकीमार्फत जिल्लाभर सवारी जाँच गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए।

यस्तै, दशैँ नजिकिएसँगै देश-विदेशबाट जिल्ला फर्कने क्रम बढिरहेको छ। जिल्लाको आठबिस नगरपालिका, गुराँस, प्रहरी चौकी तल्लो डङ्गेश्वर, प्रहरी चौकी बेस्तडा नारायण नगरपालिकालगायत १० स्थानमा यात्रु सहायता केन्द्र स्थापना गरिएको छ।

यात्रुहरुका समस्या समाधानसँगै चाडबाडका बेलामा आइपर्ने अन्य समस्या समाधानका लागि यात्रुकक्ष स्थापना गरिएको प्रहरीले जनाएको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell