PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चित्रकारले रंग्याए पचली भैरवको मूर्ति, तल्लो टोलमा पचिमह्रको रौनक

चित्रकारले रंग्याए पचली भैरवको मूर्ति, तल्लो टोलमा पचिमह्रको रौनक

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : पचली भैरवको मूर्तिलाई आज टेकुस्थित मन्दिरमा लगिँदैछ। क्व:हितिस्थित डाचो गल्लीमा चित्रकारको पुर्खौली घरमा घटस्थापनाको दिन ल्याइएको मूर्तिलाई आज मन्दिरमा लगिन्छ।

आज किचमान चित्रकारले मूर्तिमा रंगरोगन गरेका थिए। हुनत वर्षौं पहिला अहिले मूर्ति राखिएको घर चित्रकारबाट शाक्य परिवारमा बिक्री भइसकेको छ। यद्यपि, घर बेचिए पनि सोही घरमा नै चित्रकार पुगेर मूर्तिमा रंग लगाउने गरेका छन्।

रंग लगाउन सकेपछि पचली भैरवलाई थकु जुजुको घर लगिएको थियो। त्यहाँ पूजा गरेपछि खटमा बोकेर मूर्तिलाई टेकुस्थित पचलीमा रहेको मन्दिर पुर्‍याइनेछ।

मन्दिरमा पुर्‍याइएपछि पचली भैरवको विधिवत् पूजा गरी घ्याम्पोमा प्रसाद चढाइने गर्छ। साँझ भने मन्दिर परिसरमा नै होम गरिन्छ। विधिपूर्व पचली भैरवको पीठमा मूर्ति पुर्‍याइएपछि साइत हेरी मूर्ति प्रतिस्थापन गरिन्छ।

भोलि पचली भैरवको दर्शनका लागि पूरै दिन पचली मन्दिरमा दर्शनार्थीहरुका घुँइचो लाग्ने गर्छ। पचिमह्रका रुपमा मनाइने यस दिनमा त्यसक्षेत्रमा रहेका नेवार समुदायले भोज गर्छन्।

दर्शनार्थीहरुले पचली भैरवको मूर्ति रहेको घ्याम्पोमा जाँड, फलफूल, अण्डा आदि चढाउने गर्छन्। चढाइएको प्रसादसहित राति पचली भैरवलाई टेकु, लगन, ज्या: बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्‍याइने गरिन्छ।

त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइने परम्परा रहेको छ। हनुमानढोका पुर्‍याइएपछि कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइन्छ। त्यसलाई स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ।

त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ। त्यसपछि पचली भैरवलाई पालाको घर लगिन्छ र एक वर्षसम्म भैरवलाई त्यही राखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell