PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

थकुजुजुको घरबाट खटमा बोक्दै पचली भैरवलाई यसरी पुर्‍याइयो मन्दिर

थकुजुजुको घरबाट खटमा बोक्दै पचली भैरवलाई यसरी पुर्‍याइयो मन्दिर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: पचली भैरवलाई थकु जुजुको घरबाट टेकुस्थित पचलीमा रहेको मन्दिर पुर्‍याइएको छ। पचली भैरवको मूर्तिलाई खटमा राखेर मन्दिर पुर्‍याइएको हो।

मन्दिरमा पुर्‍याइएपछि पचली भैरवको विधिवत् पूजा गरि घ्याम्पोमा प्रसाद चढाइएको थियो। साँझ भने मन्दिर परिसरमा नै होम गरिएको छ।

घटस्थापनाको दिन पा:ला: को घरबाट कोहितिमा रहेका पुं (चित्रकार) कहाँ मूर्ति लगिएको थियो। आज दिउँसो त्यहाँ मूर्तिलाई रंग्याउने काम भयो। त्यसपछि आजै मूर्तिलाई मन्दिरमा लग्नुभन्दा अगाडि भीमसेनस्थान क्षेत्रमा रहेको थकुजुजुको घरमा लगिएको थियो। त्यहाँ पूजा गरेर मूर्तिलाई कोहिटी, ह्युमत हुँदै मूर्तिलाई विधिपूर्व पचली भैरवको पीठमा मूर्ति पुर्‍याइ र साइत हेरी मूर्ति प्रतिस्थापन गरिएको हो।

वर्षमा एक दिन मन्दिरमा ल्याइने पचली भैरवको दर्शनका लागि भोलि दिनभर पचलीमा दर्शनार्थीहरुका घुँइचो लाग्ने गर्छ। भोलि पचिमह्रका दिनपचलीका स्थानीय नेवार समुदायले भोज गर्छन्। दर्शनार्थीहरुले पचली भैरवको मूर्ति रहेको घ्याम्पोमा जाँड, फलफूल, अण्डा आदि चढाउने गर्छन्। चढाइएको प्रसादसहित राति पचली भैरवलाई टेकु, लगन, ज्या: बहाल, जोशीदेग, मजिपात हुँदै वसन्तपुरस्थित हनुमानढोकामा पुर्‍याइने गरिन्छ।

भोलि पञ्चमीको रात पचली भैरवको मूर्तिलाई खटमा राखेर टेकुबाट नगर परिक्रमा गर्दै वसन्तपुरस्थित हनुमानढोका पुर्‍याइनेछ। त्यहाँ पचली भैरवलाई उनकी छोरी जीवित देवी कुमारीसँग भेट गराइने परम्परा रहेको छ।

हनुमानढोका पुर्‍याइएपछि कुमारी र पचली भैरवलाई एकअर्काका आमनेसामने राखी आँखा जुधाइन्छ। त्यसलाई स्थानीय भाषामा 'दृष्टि चुलाकेगु' भनिन्छ।

त्यसक्रममा पचली भैरवले कुमारीलाई आफूमा निहित शक्ति प्रदान गर्ने जनविश्वास रहेको छ। त्यसपछि पचली भैरवलाई पालाको घर लगिन्छ र एक वर्षसम्म भैरवलाई त्यही राखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell