PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुरक्षाको कोणबाट नेपाल कहाँ छ? सामरिक दृष्टिकोणमाथिको पुस्तक सार्वजनिक



पहिलोपोस्ट

सुरक्षाको कोणबाट नेपाल कहाँ छ? सामरिक दृष्टिकोणमाथिको पुस्तक सार्वजनिक

काठमाडौं : नेपालको सुरक्षा नीति कसले र कसरी निर्धारण गर्छ र त्यसको कार्यान्वयनलाई समेटिएको पुस्तक सार्वजनिक भएको छ। पब्लिकेशन्स नेपालयले सार्वजनिक गरेको ‘नेशनल सेक्युरिटी एण्ड दी स्टेट: अ फोकस अन नेपाल'ले मुलुकको सुरक्षा संवेदनशीलता र नेपालको तयारीबारे अवगत गराउने नेपालयले जनाएको छ। नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारीले पुस्तक लेखेका हुन्। गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. गणेशमान गुरुङ र लेखक भण्डारीले संयुक्त रुपमा पुस्तक अनावरण गरेका हुन्।

भण्डारीले राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा रहेर कामसमेत गरिसकेका छन्। राष्ट्रिय सुरक्षा विषयमै विद्यावारिधिसमेत गरेका भण्डारीले देश, विदेशका विश्वविद्यालय र सुरक्षा सम्वन्धि अध्ययन केन्द्रहरुमा प्रवचन दिँदै आएका छन्।

भण्डारीका अनुसार राष्ट्रिय सुरक्षा परिषदको सचिवालय देशको सुरक्षा रणनीति बनाउने सबैभन्दा महत्वपूर्ण निकाय हो। त्यसैले यसलाई अधिकार सहितको नेतृत्व दिइनुपर्ने विचार भण्डारीले सार्वजनिक वृत्तमा राख्दैआएका छन्।

२०४६ सालको परिवर्तनसँगै मुलुकले राष्ट्रिय सुरक्षा परिषदको आवश्यकता महशुस गरेको हो। परिषदमा कार्यरत रहँदाकै बखत भण्डारीले सुरक्षा इतिहासमै पहिलोपटक नेपालको राष्ट्रिय सुरक्षा नीतिको मस्यौदा तयार पारेका थिए।

दुई विशाल एवं शक्तिशाली छिमेकीका बिचमा रहँदा आइपरेका मुद्दाहरु राजनीतिक हिसाबले मात्र सतहमा आइरहेको अवस्थामा त्यसलाई सुरक्षाको दृष्टिकोणमा लेखकले प्रस्तुत गरेका हुन्।

पछिल्लो समय अत्यधिक चर्चामा रहेको कालापानीको मुद्दा यसको उदाहरण हुनसक्छ। दुइ मुलुक बिचको यो सीमा अतिक्रमणको विषयले परम्परादेखि चल्दै आएको आपसी मैत्री सम्वन्ध र खुला सीमानाका मुद्दालाई बहसका रुपमा अघि बढाएको भए पनि राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिको हिसाबले यसबारे धेरै मन्थन भएको पाइँदैन।

नेपाली समाजले सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र स्वतन्त्र पहिचान जस्ता विषयहरुलाई अत्यन्त संवेदनशीलताका साथ लिने गरेको छ। यो राष्ट्रिय सुरक्षा र राष्ट्रिय सुरक्षा नीतिसँग प्रत्यक्ष जोडिएको विषय हो।

‘छिमेकी एवं विश्व शक्तिराष्ट्रका दीर्घकालीन स्वार्थहरु जोडिएका भूराजनीतिक अवस्थाले हाम्रो सुरक्षा र सम्वृद्धिका क्षेत्रमा अवसर र चूनौति दुवै उभ्याएको छ,’ लेखक भण्डारीले भने, ‘त्यसैगरी धेरै मुलुकमा जस्तै हामीकहाँ पनि लगातार परिवर्तनशील आन्तरिक परिस्थितिहरुले उभ्याउने आन्तरिक सुरक्षा चुनौतीका अझ बढी जटिलता विद्यमान छन्।’

विमोचन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले पनि यो पुस्तकको महत्वबारे चर्चा गरेका थिए। चार सय २६ पृष्ठको पुस्तकलाई ९ सय ९५ रुपैयाँ मूल्य राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell