PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भारी वर्षाले दिक्तेलमा घर भत्कियो, विभिन्न ठाउँमा क्षति



रासस

भारी वर्षाले दिक्तेलमा घर भत्कियो, विभिन्न ठाउँमा क्षति

खोटाङ : भारी वर्षाका कारण खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका कुलबहादुर बस्नेतको घर भत्किएको छ। गए राति परेको वर्षाका कारण बस्नेतको ढुङ्गामाटो प्रयोग गरेर बनाइएको तीनतले घर भत्किएको हो।

घर भत्किएपछि बस्नेत परिवार आफन्तकहाँ आश्रय लिएर बसेको छ। वर्षाकै कारण दिक्तेलकै ढोडे पुछारका नइन्द्र राईको घरमा समेत क्षति पुगेको छ। सोही ठाउँका नारायण राईको घरमा भलपानी पस्दा बस्न नमिल्ने भएको छ। वर्षापछि वडाका विभिन्न ठाउँमा पहिरो खस्दा ठूलो क्षति पुगेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए। पहिराले कतिपय स्थानीयको खोर पुरिँदा बाख्रासमेत मरेका छन्। 'पीडित राहतका लागि फोन गर्न थालेका छन्', उनले भने।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जिल्लामा मानवीय क्षति नभएको जानकारी दिए। वर्षाका कारण जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध छन्। दसैं, तिहार र छठ मनाउन विभिन्न ठाउँबाट घर फर्किएका जिल्लावासी पैदलयात्रा गर्न बाध्य छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell