
काठमाडौंः काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा सोमबार साँझ गोली लागि हत्या गरिएका सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी उच्च स्रोतका अनुसार तीन जनालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ। हतियार व्यवस्थापन गर्नेदेखि बस्ने प्रवन्ध मिलाउनेसम्मका व्यक्तिलाई नियन्त्रणमा लिएको हो। काठमाडौं बाहिर गएर उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दिएको छ।
कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले कृष्णमन्दिर नजिक गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो। एसएसपी जनकराज भट्टराईको नेतृत्वमा घटना छानबिन समिति बनेको थियो।
घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ ।
महम्म नक्कली नोट र कर्तब्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको खुलेको छ।