PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

कुहिने फोहर फाल्न स्थान खोज्दै काठमाडौं महानगर



पहिलोपोस्ट

कुहिने फोहर फाल्न स्थान खोज्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले कुहिने फोहर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ। सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्‍याउँदा पटक-पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारीरूपमा फोहरको दीर्घकालिन समाधानका लागि स्थान पहिचानको काममा लागेको महानगरले जनाएको छ।

बञ्चरेडाँडामा हानीकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप महानगरले यस किसिमको अध्ययन सुरु गरेको हो। महानगर प्रमुख बालेन्द्र शाहको सचिवालयका सदस्य सुनिल लम्सालले भने, 'उपत्यकामा तीन स्थानको पहिचान भएको छ। बीचमा केही अवरोध नआए आगामी मङ्सिरदेखि उक्त कामको थालनी हुने छ। त्यस विषयमा सम्बन्धित स्थानका स्थानीयसँग छलफल भइरहेको छ।'

फोहर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ। हाल महानगर र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ। यो नै उपयुक्त विकल्प नभएकाले कुहिने फोहरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान महानगरले स्थान पहिचान गरिरहेको हो।

अन्य सम्भावित स्थानको पहिचान गर्ने कार्य जारी छ। हालसम्म उपलब्ध भएका जग्गा ५० रोपनीदेखि एक सय ५० रोपनीसम्म छ। यसअघि विगत १६ वर्षदेखि उपत्यकाको १८ स्थानीय तहको फोहर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell