
काठमाडौं : लाल महम्मद (दर्जी)को हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटारमा असोज ४ गते सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली हानेर हत्या गरिएको थियो। घटनाको अनुसन्धान गर्दै जाँदा तीन जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। तर उनीहरु घटनामा सहयोगीको भूमिकामा मात्र भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा एक जना महिलासहित तीन जनालाई प्रहरीले उपत्यका बाहिरबाट पक्राउ गरेको हो।
उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ। हतियार व्यवस्थापन गर्नेदेखि बस्ने प्रवन्ध मिलाउनेसम्मका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।
कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले मन्दिर नजिकै नै गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो। एसएसपी जनकराज भट्टराईको नेतृत्वमा घटना छानबिन समिति बनेको थियो।
घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ।महम्म नक्कली नोट र कर्तब्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको खुलेको छ। घटनाको मुख्य योजनाकार भारतीय नागरिक नितिन भन्ने युवक भएको खुलेको छ।