
काठमाडौं : लाल महम्मद (दर्जी)को हत्यामा संलग्न भएको भन्दै प्रहरीले तीन जनालाई सार्वजनिक गरेको छ। एक महिलासहित वीरगंजबाट पक्राउ गरेर ल्याइएका तीन जनालाई शुक्रबार काठमाडौं जिल्ला प्रहरी परिसरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो।
प्रहरीले सार्वजनिक गरेकामा १९ वर्षीय रोहन मिया, २१ वर्ष सुनिता स्याङतान (सुमि) र २१ वर्षीय मनोहर मिया रहेका छन्। मनोहर वीरगंजको पर्सा महानगरपालिकाका हुन्। मनोहर र रोहनले हतियार व्यवस्थापन गरेका थिए। साथै पक्राउ परेकी युवती सुनिताले घटनास्थलको रेकी गरेकी अपराध अनुसन्धान कार्यालयका प्रमुख जनकराज भट्टराईले जानकारी दिए।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा असोज ४ गते सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली हानेर हत्या गरिएको थियो। तर, उनीहरु घटनामा सहयोगीको भूमिकामा मात्र भएको खुलेको छ। पक्राउ परेका दुई जना युवकले भारतीय नागरिकले दिएको हतियार वीरगंजबाट काठमाडौं ल्याएका थिए। र, उनीहरुले हतियार भारतीय सुटरलाई दिएको खुलेको छ।
घटनाका मुख्य सुटर भने अझै फेला पारेको छैनन्। पक्राउ परेका तीन जना सहयोगीको जानकारीको आधारमा मुख्य योजनाकारसम्म पुग्ने गरि प्रहरीले अनुसन्धान गरिरहेको छ।
कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का प्रोपाईटर समेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले मन्दिर नजिकै नै गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो। एसएसपी जनकराज भट्टराईको नेतृत्वमा घटना छानबिन समिति बनेको थियो।
घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ।महम्म नक्कली नोट र कर्तब्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको खुलेको छ। घटनाको मुख्य योजनाकार भारतीय नागरिक नितिन भन्ने युवक भएको खुलेको छ।