PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

डोरी समाउँदै भेडा च्याङ्ग्राका ग्राहक पर्खिरहेका बालबालिका जसले दशैँमा लगाउने छैनन् नयाँ लुगा



रिना थापा

डोरी समाउँदै भेडा च्याङ्ग्राका ग्राहक पर्खिरहेका बालबालिका जसले दशैँमा लगाउने छैनन् नयाँ लुगा

पोखरा : पोखराको याम्दी क्षेत्र अहिले भेडा च्याङग्राको बथानले भरिएको छ। दशैँको छेकोमा हरेक वर्ष हिमाली जिल्लाबाट भेडा च्याङ्ग्रा भित्रिन्छ पोखरामा अनि याम्दीमा लाग्छ खरिदकर्ताको भीड। बझाङ, हुम्ला, मनाङ र मुस्ताङदेखि व्यापारी यो बेला पोखरा झर्छन्। यसवर्ष पनि याम्दीमा भेडा च्याङ्ग्राको बथान लिएर व्यापारी खरिदकर्ताको पर्खाइमा छन्। भेडा च्याङ्ग्राको बथानका भीडमा व्यापारी मात्र खरिदकर्ताको पर्खाइमा भने थिएनन्। व्यापारीहरुसँगै देखिन्थे बालबालिका पनि।

हातमा डोरी लिएर भेडा च्याङ्ग्रा किन्ने मानिसको प्रतीक्षामा थिए बालबालिका। भेडा च्याङ्ग्रा बिके उनीहरुको डोरी बिक्थ्यो। त्यसैले जताको बथानमा मोलमोलाइ हुन्थ्यो त्यतै पुग्थे बालबालिका पनि। कम उमेरमै उनीहरु आफ्नो परिवारको खर्च धान्न सहयोग गरिरहेका थिए।

परिवारको जीविकोपार्जनको माध्यम मजदुरी। ज्यामी काममा जाने आमाको काखमा आजभोलि ६ महिने छोरी अर्थात् यशोदा विककी बहिनी छिन्। त्यसैले परिवारमा आर्जनको स्रोत घटेको छ। बाबाको मजदुरीकै कमाइले पुग्दैन परिवारलाई। चार कक्षामा पढ्ने यशोदालाई राम्रैसँग थाहा छ। चाडपर्वको उत्साह बढेपछि पोखराको सिम्पानीमा रहेको यशोदाको सरकारी विद्यालय बिदा भयो। तर, दशैँ बिदाको उत्साहले भने उनलाई छोएन। भेडा च्याङ्ग्रा आउँदा याम्दी आएर बाजेहरुले डोरी बेचेको टोलमा सुनेकी थिइन उनले। त्यसैले यो पटक उनी पनि आइन डोरी लिएर बेच्न। हातमा डोरी लिएर यताउति हिँडिरहेकी यशोदाले बिहानदेखि कुरिरहेकी थिइन डोरी किनिदिने मानिस। डोरी बेच्न उनले दु:ख गरिरहे पनि सो बाट आएको पैसा भने राख्दिनन् उनी।

‘मम्मी घरमा बस्नुहुन्छ। बाबा टिप्परमा सामान लोड अनलोड गर्ने काम गर्नुहुन्छ। घरमा सानो बहिनी छ। त्यही भएर अहिले घरमा बस्नुहुन्छ बहिनी ठूलो भएपछि ज्यामी काम गर्न जानुहुन्छ,’ उनले लजाउँदै भनिन्,‘आज दुईवटा बिक्यो मम्मीलाई लगेर दिने हो। हिजो पनि मम्मीलाई लगेर दिएको हो।’

पसलबाट एकसय पचास रुपैयाँमा किनेको डोरी १६ वटा बन्छ। त्यसलाई उनीहरु प्रत्येक डोरीको पचास रुपैयाँमा बेच्छन्। उसो त न उनले बेच्न लागेको डोरीको मूल्य महङ्गो छ। न त उनले बेचेर पाएको पैसा धेरै नै हो। तर, त्यो मूल्य उनको लागि घरमा आमाले नुन र तेल ल्याउन मिल्ने रुपैयाँ हो। यशोलालाई यो पनि थाहा छ –उनले दिएको पैसाले आमाले भान्छाको सामान ल्याउँछिन् भन्ने।

चाडपर्व भनेपछि केटाकेटीका लागि नयाँ कपडाले पनि उत्साह ल्याउँछ। तर, यशोधाको नयाँ कपडा किन्ने पालो यस वर्षको लागि सकिएको छ। तीजमा मात्र नयाँ कपडा किनेकी उनलाई दशैँमा नयाँ कपडा किन्ने रहर भएर पनि मन छैन।

‘अब नकिन्ने तीजमा किनेको फ्रक र स्यान्डल,’ उनले मुस्कुराउँदै भनिन्, ‘मम्मीलाई पैसा दिएपछि नुन र तेल किन्नुहुन्छ नि!’

यशोदासँगै आएकी थिइन उनकी ठूलो बुबाकी छोरी लक्ष्मी विक पनि। ११ वर्षकी उनी पोखराकै एक सरकारी विद्यालयमा कक्षा ६ मा पढ्छिन्। उनको बुबा-आमा दुवै मजदुरी गर्छन। काम पाएको बेला ज्यामी गर्न आमा कहिलेकाहीँ निस्किन्छन्। नत्र, घरमै। डोरी बेच्ने उपाय उनलाई उनकै हजुरबुबाले सुझाएका हुन्।

‘सुरुसुरुमा बाजेले डोरी बेच्न जा भन्नुभयो। च्याङ्ग्रा हेर्न आएको कति धेरै। अनि हामी डोरी लिन गएको। हरिचोकको पसलबाट लिएर आएको। अहिले त तीनवटा मात्र बिकेछ,’ उनले भनिन।

लक्ष्मीले पनि आफूले पाएको पैसा आमालाई दिन्छिन्। तीजमा मात्र नयाँ कपडा किनेकी उनलाई फेरि कपडा किन्ने मन छ। तर, दशैँमा बाबाले नयाँ कपडा ल्याईदिनुहुन्न भन्ने थाहा छ उनलाई। लेहेङ्गा चोली लगाउने उनको रहर छ। किन्नका लागि पैसा पनि जम्मा गरेकी छन् उनले।

‘नयाँ कपडा तीजमा किनेको हो। अहिले नकिन्ने। लेहेङ्गा चोली लगाउन मन छ। पाँच सय जम्मा भएछ। मम्मीसँग छ। यो पनि मम्मीलाई दिने हो,’ उनले हाँस्दै भनिन्।

त्यत्तिकैमा चयाङ्ग्रा किन्न एकजना आइपुगे। त्यो देखेर अर्को बथानको भीडबाट ९ वर्षीय विजय विक पनि हातमा डोरी लिएर आइपुगे। च्याङ्ग्रा किन्न आउने व्यक्तिसँगै थिए एक साना बालक पनि। चयाङ्ग्राको सिङ समाउँदै हजुर-बुबासँग जिद्दी गर्दै– यही ‘माउन्टेन गोट’ लैजाने भन्दै। विजयको हातमा डोरी देखेपछि ती बालकले डोरी खोसेर च्याङ्ग्राको सिंगमा बाँधिदिए र खेले। उनीसँग खेल्न थाले विजय पनि।

त्यसरी डोरी बेच्नेको भीडमा केटाकेटीमात्र थिएनन्। काखमा १८ महिनाको छोरा च्यापेर बालिका पाण्डे पनि आइपुगेकी थिइन। दशैँको माहोल आएपछि मजदुरीको काम पाएकी छैनन् उनले। घरमा यसै बस्न भन्दा केही रकम भए पनि आइहाल्छ कि उनलाई लाग्यो। त्यसैलै यहाँ आइपुगिन उनी पनि।

डोरी बेचेर दिनमा पाँच सयदेखि आठ सयसम्म कमाइरहेका छन् उनीहरुले। तर, कोहीले साथमा डोरी पनि लिएर आउँछन्। बिहानमात्र एकै जनाले पाँचवटा च्याङ्ग्रा किनेर गएछन्। च्याङ्ग्रासँगै डोरी पनि जान्छन् कि भन्ने आश थियो उनीहरुको। तर, ती मान्छेले आफूसँगै डोरी पनि ल्याएका रहेछन्। तीनै जनाले एकपटक गुनासो पोख्दै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell