PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गोठाटार गोली काण्ड : पक्राउ परेका योजनाकार कि हतियार व्यवस्थापक? प्रहरी नै अलमलमा



सविन ढकाल

गोठाटार गोली काण्ड : पक्राउ परेका योजनाकार कि हतियार व्यवस्थापक? प्रहरी नै अलमलमा

काठमाडौं : सर्लाहीका ५८ वर्षीय लाल महम्मद (दर्जी)को हत्या अभियोगमा प्रहरीले शुक्रवार केही अभियुक्तलाई सार्वजनिक गर्‍यो। जिल्ला प्रहरी परिसर काठमाडौंले आयोजना गरेको पत्रकार सम्मेलनमा घटनाको छानविनका लागि गठित समितिका संयोजक जनक भट्टराईसमेत सामेल थिए। त्यस्तै परिसरका प्रमुख एसएसपी भरत बोहरा पनि थिए।

प्रहरीले पर्सा वीरगंज घर भएका २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका वडा नम्बर १ बस्ने सुमी भन्ने सुस्मिता स्याङ्ताङलाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा दुई युवकको भूमिका योजनाकार र हतियार व्यवस्थापन गर्ने भनिएको छ। त्यस्तै सुस्मिता दर्जीको 'रेकी' को भूमिकामा रहेको भनिएको छ। उनले २०७६ असार ११ गतदेखि २०७८ फागुन ७ गतेसम्म चोरी मुद्दामा केन्द्रीय कारगार सुन्धारामा कैद भुक्तान गरेको खुलेको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-८ स्थित गोठाटारमा असोज ३ गते सर्लाही गोडैटा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को गोली हानेर हत्या गरिएको थियो। प्रहरीले विज्ञप्तिमा दुई युवकको भूमिका योजनाकार भनेको थियो। तर, पत्रकार सम्मेलनमा दुई एसएसपीले घटनाको जानकारी दिन सकेनन्। योजनाकार भए किन योजना बनाएका थिए? दर्जीको हत्या किन गरे? हत्या गर्दा उनीहरुलाई के फाइदा थियो?

यसको जवाफ कसैले दिइसकेको छैन। समितिका संयोजक एसएसपी भट्टराईले घटना अनुसन्धानमा नै रहेकाले खुल्दै जाने बताए। तर एसएसपी भरत बोहराले पत्रकार सम्मेलनमा नै पक्राउ परेकाको भूमिका योजनाकार भनेको कुरालाई आफैंले खण्डन गरेका थिए। उनले दुई जनाको भूमिका हतियार व्यवस्थापन भएको भन्दै केही सुधारेर बोले। तर हतियार व्यवस्थापन गरेका भए कहिले, किन, कति रकम लिएर हतियार उपलब्ध गराए?  भन्ने प्रश्नको जवाफ भने दिन सकेनन्।

उनीहरुले दर्जीलाई गोली हान्ने सुटरलाई हतियार दिएको भन्ने खुल्छ। के वीरगंजबाट उनीहरुले हतियार ल्याएर दिएका थिए? उनीहरुले कुन सुटरलाई कति रकम लिएर दिएका थिए? उनीहरुको सुटरसँग कसरी सम्पर्क भएको थियो? यता धेरै प्रश्नको जवाफ प्रहरीले दिन सकेको छैन। देशको राजधानीमा सम्साँझै भएको हत्या घटनामा प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्दै आयोजित पत्रकार सम्मेलनमा प्रष्ट जवाफ दिन सकेन।

कागेश्वरी मनहरा नगरपालिका-८ गोठाटार कृष्णमन्दिर नजिक रहेको एभेन्जर ईन्टरप्राईजेज (गार्मेन्ट)का संचालकसमेत रहेका महम्मदलाई हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिले मन्दिर नजिकै नै गोली प्रहार गरेका थिए। गम्भीर घाइते भएको खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उपचारको लागि शंखरापुर अस्पताल नारायणटार जोरपाटी हुँदै शिक्षण अस्पताल महाराजगंज रिफर भएकोमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो। एसएसपी जनकराज भट्टराईको नेतृत्वमा घटना छानविन समिति बनेको थियो।

घटनास्थलबाट मेड इन यूएसए लेखेको १ थान पेस्तोल, १ थान म्याग्जिन, ४ राउण्ड गोली र ४ वटा खोका बरामद भएको छ। महम्मद नक्कली नोट र कर्तब्य ज्यान मुद्दा ८ वर्ष ७ महिना जेल बसेर निस्किएको पनि प्रहरीले खुलाइसकेको छ। घटनाको मुख्य योजनाकार भारतीय नागरिक नितिन भन्ने युवक रहेको प्रहरीको दावी छ।

त्यस्तै मारिएका व्यक्ति जाली नोटको कारोबरीसमेत भएको सूचना प्रहरीले चुहाएको छ। यसले पनि घटनाको अनुसन्धान प्रहरीका लागि चुनौतीपूर्ण बनेको थियो। काठमाडौंमा भएका केही हाइप्रोफाइल यस्ता घटनामा प्रहरीले मुख्य योजनाकार र सुटरलाई पक्राउ गर्न सकेको छैन।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले प्रष्ट जवाफ दिन नस्कदा शंका गर्ने ठाउँ प्रशस्त छाडिदिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell