PahiloPost

May 25, 2025 | १२ जेठ २०८२

ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सक्रिय र सहयोगी हुनुपर्छ : प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

ज्येष्ठ नागरिकको संरक्षणका लागि सबै सक्रिय र सहयोगी हुनुपर्छ : प्रधानमन्त्री देउवा
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकको संरक्षणको लागि घरपरिवारदेखि राज्यतहसम्मका सबै संयन्त्र र संरचना सक्रिय र सहयोगी रहनुपर्ने उल्लेख गरेका छन्।

३२औँ अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शुभकामना सन्देशमार्फत उहाँले ज्येष्ठ नागरिकलाई सदैव स्नेह र सद्भाव प्रकट गर्न, उनीहरूमाथि कुनै पनि किसिमको दुव्र्यवहारको घटना घट्न नदिन र उच्च प्राथमिकताका साथ राज्यका तर्फबाट सेवा सुविधा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। साथै उनीहरूलाई पहिलो प्राथमिकता दिई उच्च सम्मान दर्शाउन सबै प्रतिबद्ध हुन आवश्यक रहेको देउवाले उल्लेख गरेका छन्।

'यसको लागि म सम्बद्ध सबै निकायलाई निर्देशन दिन चाहन्छु। परापूर्वकालदेखि हाम्रो सामाजिक–सांस्कृतिक परम्परामा चलिआएको ज्येष्ठ नागरिकलाई आदर र सम्मान गर्ने परम्परालाई अक्षुण्ण राख्दै यो ज्ञान नयाँ पुस्तासमेतमा हस्तान्तरण गर्न आवश्यक छ', प्रधानमन्त्री देउवाले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष १ अक्टोबरको दिनलाई विश्वभर अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने गरिएको छ। यस वर्ष “परिवर्तनशील विश्वमा ज्येष्ठ नागरिकप्रति लचिलोपन” भन्ने अन्तरराष्ट्रिय नारा र “ज्येष्ठ नागरिकको उत्थानशीलताः बदलिँदो विश्वको लागि अपरिहार्यता” भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइदैछ। प्रधानमन्त्री देउवाले दिवसका अवसरमा विभिन्न ज्ञान, सीप र अनुभव सँगाल्नुभएका सम्पूर्ण  ज्येष्ठ नागरिकमा बधाई तथा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, सुस्वास्थ्य र खुसीयालीपूर्ण दीर्घजीवनको कामना गरेका छन्।

संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ लाई अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे पश्चात् सन् १९९१ देखि अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै आइएको छ। यो दिवस ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्ने, उनीहरूले देश, समाजको परिवर्तन, विकासका लागि गर्नुभएको योगदानको स्मरण गर्ने, समाजमा ज्येष्ठ नागरिकलाई सुरक्षित र सम्मानपूर्ण जीवनयापन गर्ने वातावरण सुनिश्चित गर्न सबैले प्रतिबद्धता जाहेर गर्ने दिन भएको उनले उल्लेख गरेका छन्।

नेपालको संविधानले ज्येष्ठ नागरिकको हकलाई मौलिक हकको रूपमा व्यवस्था गरी उनीहरूलाई राज्यको तर्फबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको छ। तदनुसार नेपाल सरकारले ज्येष्ठ नागरिकको कल्याण र सुरक्षाको लागि विभिन्न व्यवस्था गर्नुका साथै राज्यबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत विभिन्न सेवा तथा सुविधामा विभिन्न सहुलियत प्रदान गर्दै आएको प्रधानमन्त्री देउवाले बताएका छन्। उनले ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सेवा र सहुलियतपूर्ण व्यवस्थालाई आगामी दिनमा राज्यको क्षमतामा वृद्धि भएसँगै थप फराकिलो बनाउँदै लगिने उल्लेख गरेका छन्।

व्यक्तिको सरदर आयुमा भएको वृद्धिसँगै हालका वर्षमा हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसङ्ख्या तीव्र गतिमा बढ्दैछ। हाल नेपालमा ज्येष्ठ नागरिकको सङ्ख्या करिब ३० लाखको हाराहारीमा रहेको छ।

प्रधानमन्त्री देउवाले आफ्नो ऊर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराएका छन्। 'सरकारले हरेक अस्पतालमा जेरियार्टिक वार्ड अर्थात् ज्येष्ठ नागरिक वार्ड सञ्चालन गर्ने नीतिको कार्यान्वयन केही अस्पतालबाट सुरु गरिसकेको छ भने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्तामा बृद्धि गरी हाल मासिक चार हजार रूपैयाँ पुर्‍याइएको छ', प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell