PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीय आक्रोशित, जनप्रदर्शनसँगै जलाइयो बालेनको पुतला

बाङ्गेमुढाको सामुदायिक भवनमा डोजर चलाएपछि स्थानीय आक्रोशित, जनप्रदर्शनसँगै जलाइयो बालेनको पुतला

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : बाङ्गेमुढा (थायमरु) मा रहेको सामुदायिक भवन (त्वा: छेँ) महानगरले भत्काएपछि स्थानीय आन्दोलित भएका छन्। शुक्रबार महानगरले जबर्जस्ती वडा २५ मा रहेको सो भवन डोजर लगाएर भत्काएपछि शनिबार स्थानीयले बाङ्गेमुढा चोकमा भेला भएर प्रदर्शन गरेका हुन।

भवन ४४ वर्षअघि स्थानीयले चन्दा उठाएर निर्माण गरेका थिए। सोही भवनबाट नेपाल भाषा मंका खलको सुरुवात भएको थियो जसले भाषा आन्दोलन सुरु गरेको थियो। पञ्चायत कालमा सोही भवनमा आन्दोलनको लागि बैठक बस्ने गर्थ्यो। पछि भवनमा वडा २८ को कार्यालय स्थापना गरियो।

केशव स्थापित महानगर प्रमुख हुँदा सो भवनमा महानगरले दाबी गरेको थियो। त्यसपछि भवनको स्वामित्वलाई लिएर अदालतमा मुद्दा परेको थियो।

अदालतमा मुद्दा विचाराधीन रहेको बेला अहिले महानगपालिकले भवन भत्काएको भन्दै स्थानीय आन्दोलनमा उत्रेका हुन। बाङ्गेमुढामा भेला भएर उनीहरूले महानगरविरुद्ध नारा लगाएका थिए। शुक्रबार भवनको मुद्दा विचाराधीन रहेको कागज देखाउन खोज्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेले 'माथिको आदेश' भन्दै कागजपत्र हेर्न नमानेको स्थानीयको आरोप छ। स्थानीयले महानगर प्रमुख बलेन्द्र शाहको आदेशमा भवनमाथि डोजर चलेको भन्दै पुतला जलाएका थिए। संघर्ष समिति बनाएर महानगरको प्रतिरोध गर्ने उनीहरुको मत छ।



ट्रेन्डिङ पोस्ट

Ncell