
इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीमा सानदार सुरुवात गरेका अर्लिङ हल्यान्डले आइतवार म्याचेस्टर युनाइटेडसँग खेल्नुछ। सिटीबाट हरेकपटक मैदानमा उत्रँदा कीर्तिमान बनाएर हिँडिरहेका हल्यान्डले सिटीबाट सबैगरी १० खेल खेल्दा १४ गोल गरे इन्टरनेसनल ब्रेक अघिसम्म। आफ्नो करियरको पाँचौ क्लबबाट खेलिरहेका २२ वर्षे नर्वेका खेलाडी हल्यान्डले हालसम्म केके उपलब्धि हात पारे र केके पाउने सम्भवना राख्छन्, त्यसमा चासो बढ्दो छ।
प्रिमियर लिगकै सुरुवाती ७ खेलमा उनले ११ गोल गरिसकेका छन्। यसमा उनले सन् १९९२ को मिक क्विनको कीर्तिमानलाई पछाडि पारेका छन्। १० खेल खेल्न तीन खेल बाँकी छँदै क्वीन, पेपिस सिसे र डिएगो कोस्टाको पहिलो १० खेलमा सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरिसकेका छन् उनले।
आर्लिङको पहिलो पाँच खेलबाट भएको ९ गोलको पनि आफ्नै कीर्तिमान छ। यो प्रिमियर लिगको कुनै पनि सिजनको अगस्ट महिनामा सर्वाधिक गोल हो।
प्रिमियर लिगमा आफ्ना सुरुवाती चार अवे खेलमा गोल गर्ने पनि उनी पहिला खेलाडी हुन्।
च्याम्पियन्स लिगमा पनि उनले कीर्तिमानहरु बनाएका छन्। तीनवटा क्लबबाट च्याम्पियन्स लिगमा डेब्यु गर्दा तीनवटै खेलमा एकभन्दा बढी गोल गरेको कीर्तिमान उनको नाममा छन्। जारी सिजन म्यानचेस्टर सिटीबाट च्याम्पियन्स लिगमा डेब्यु गर्दै दोहोरो गोल गरेका उनले यसअघि उनले साल्जबर्गबाट डेब्यु गर्दा जिङ्कविरुद्ध ह्याट्रिक र डर्टमण्डबाट पेरिस सेन्ट जर्मेनविरुद्ध दुई गोल गरेका थिए।
च्याम्पियन्स लिगमा २५ गोल पुरा गर्न उनले २० खेल खेले। यसमा उनले रुड भान निस्टेलरुए र रोबेर्टो सोल्डाडोको कीर्तिमान पछि पारे। उनीहरुले आफ्नो पहिलो २० खेलमा १६ गोल गरेका थिए।
आर्लिङ किलियन एम्बाप्पेको कीर्तिमानलाई पछि पार्दै च्याम्पियन्स लिगमा २५ गोल गर्ने सबैभन्दा युवा खेलाडी हुन्। पछिल्लो खेलमा डर्टमण्डविरुद्ध गोल गरेसँगै उनले २१ खेलबाट २६ गोल गरेका छन्।
च्याम्पियन्स लिगको सुरुवाती ३० खेलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीमा उनले आफ्नो ९ खेल बाँकी छँदै निस्टेलरुएको कीर्तिमान बराबरी गरिसकेका छन्। त्यस्तै च्याम्पियन्स लिगमा सबैभन्दा १०, १५ र २० गोल गरेको कीर्तिमान उनकै नाममा छ। त्यस्तै प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट डेब्यु खेलमै लिग र च्याम्पियन्स लिग दुबैमा गोल गर्ने उनी पहिलो खेलाडी हुन्।
सानदार सुरुवात जर्मनीमा कि इङ्ग्याण्डमा?
प्रिमियर लिगमा सानदार सुरुवात गरेका उनको जर्मनीमा छँदा उत्तिकै उत्कृष्ट सुरुवात थियो। उनी डर्टमण्डबाट डेब्यु खेलमा बुण्डेसलिगा, जर्मन कप, च्याम्पियन्स लिग र जर्मन सुपर कपमा गोल गर्ने पहिलो खेलाडी हुन्।
सब्सिच्युड खेलाडीका रुपमा मैदान प्रवेश गरेर ह्याट्रिक पुरा गर्ने कीर्तिमान बुण्डेसलिगामा उनकै नाममा छ। त्यस्तै बुण्डेसलिगाका पहिलो दुई, तीन, पाँच र छ खेल खेल्दा सर्वाधिक गोलको कीर्तिमान उनकै नाममा छ।
उनले बुण्डेसलिगमा ५० खेलमा ५० गोल पुरा गरे, २१ वर्षकै उमेरमा। त्यस्तै कम उमेरमै स्कोरका कीर्तिमान उनका धेरै छन्।
त्यस्तै नर्वेको राष्ट्रिय टोलीबाट २० खेल खेल्दा २१ गोल गरेका छन्।
प्रिमियर लिगमा कीर्तिमान बनाउन सक्लान्?
उनी यही हिसाबले अगाडि बढे प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान उनले बनाउन सक्छन्। प्रिमियर लिगको एउटा सिजनको सर्वाधिक गोल संख्या ३४ छ। सन् १९९३-९४ मा एलेन शेरेरले यो कीर्तिमान बनाएका थिए। त्यतिबेला प्रिमियर लिगमा ४२ खेल हुन्थ्यो। यो कीर्तिमान तोड्न हल्यान्डलाई बाँकी ३१ खेलमा २४ गोलको आवश्यकता पर्नेछ। ३८ खेलको प्रिमियर लिगमा भने सन् २०१७ मा मोहम्मद सलाहले सर्वाधिक ३२ गोल गरेका थिए। यद्यपि युरोपको शीर्ष पाँच लिगको कुरा गर्दा भने सलाहलाई मेस्सीले सन् २०११-१२ मा ला लिगामा बनाएको ३८ गोलको कीर्तिमान तोड्न भने सहज हुनेछैन।
त्यस्तै च्याम्पियन्स लिगमा सन् २०१३-१४ मा क्रिस्टियानो रोनाल्डोले ११ खेलबाट १७ गोल गरेका थिए। यो कीर्तिमानको नजिक पुग्न पनि हल्यान्डलाई सहज हुनेछैन।
राष्ट्रिय टोलीको कुरा गर्दा नर्वेको सर्वकालीन सर्वाधिक गोलकर्ता बन्न हल्यान्ड १२ गोलले पछाडि छन्। सन् १९२०/३० ताका योर्गेन ज्युभले बनाएको ३३ गोलको कीर्तिमानले हल्यान्डलाई पर्खिरहेको छ। - बिबिसीमा प्रकाशित सामग्रीको भावानुवाद