
वीरगंज : दसैँ घरघरमा आइसकेको छ। तर नेताहरु भने यतिबेला प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भिड्न आफूले टिकट पाउनैपर्ने अडानका साथ काठमाडौंमा शीर्ष नेताहरुको घर पुगेर लबिइङ गरिरहेका छन्।
मंसिर ४ मा हुने चुनावका लागि निर्वाचन आयोगले असोज २३ गते प्रत्यक्षतर्फ मनोनयनको मिति तोकेको छ। दलहरुले अहिलेसम्म प्रत्यक्षतर्फको उम्मेदवारको टुंगो लगाएको छैन। यसैले पनि पर्सा क्षेत्र नं. १ मा प्रतिनिधिसभाको प्रत्यक्ष चुनावमा उठ्ने संकल्पका साथ कांग्रेस नेता अजयकुमार द्विवेदी प्रयासरत रहेका छन्।
केही दिनदेखि टिकटकै लागि काठमाडौं रहेका द्विवेदीले आगामी चुनावमा जुन पनि पार्टीबाट चुनाव लड्न सकिने बताए। 'मेरो सबभन्दा पहिलो रोजाइ नेपाली कांग्रेस नै हो, कांग्रेसले टिकटन दिए अन्य विकल्पबारे पार्टीका साथीहरूसँग छलफल भइरहेको छ,' उनले भने।
उनले नेकपा एमाले, जसपा र स्वतन्त्रबाट पनि चुनाव लड्न साथीहरूको सुझाव आइरहेको अवस्थामा भोलिको दिनमा जे पनि हुन सक्ने धारणा राखे। अहिले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन टुट्ने मोडमा रहेको बताउँदै यदि गठबन्धन रहेन र पार्टीले मलाई नै एकचोटि टिकट दियो भने चुनाव लड्न उत्सुक रहेको बताए।
पर्सा क्षेत्र नं. १ बाट उद्योगपति एवं संविधानसभा सदस्य अनिल रूँगटालाई टिकट पाए भने के गर्ने प्रश्नमा उनले भने, 'रूँगटाजी, समानुपातिकमा गइसक्नु भएको छ। त्यस कारणले पार्टीको नेता भनेको म नै हो, मेरो नाम पनि सिफारिस भएको छ त्यसकारण पार्टीले मलाई नै टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु।'
केही दिनभित्रै द्विवेदी एमाले प्रवेश गरेर उक्त पार्टीबाटै उम्मेदवार बनी चुनाव लड्ने चर्चा छ।