
वीरगंज : वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माईको मेला शुरु भएको छ। घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा श्रद्धालु भक्तजनको भीड देखिएको छ।
अहिले घण्टाघर छेउछाउ, गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ। आइतवार बिहान १०:०५ बजे मालपोत कार्यालय पर्सा विर्ताबाट फूलपाति भित्र्याउने तथा सोमवार अष्टमीका दिन बलिदान हुने कार्यतालिका छ। फूलपाती भित्र्याएपछि महिलाहरुले 'खोइच' भर्छन्। खोइच एक प्रकारको गहवामाईको विशेष पूजा हो जसमा व्रतालुले भाकलसमेत गर्छन्।
मेला भर्न बारा, पर्सा, रौतहट, बिहारलगायत क्षेत्रबाट सामान बिक्री गर्ने व्यवसायीहरू आइपुगिसकेका छन्। मेलालाई मध्यनजर गर्दै विपी पार्कमा रमाइलो मेला आयोजना गरिएको छ भने साङ्केतिक कार्यक्रम, खेल तमाशा र झुलुवा पनि राखिएको छ।
गहवा माई मन्दिर अगाडिको सडकलाई नवनिर्वाचित मेयर राजेशमान सिंहले सौन्दर्यीकरण गर्न करीब ९० लाख रुपियाँ खर्च गरेको बुझिएको छ। मन्दिर परिसर वरपर झिलीमिली बत्तीले दुलहीझै सिंगारिएको र यसपालि वीरगंजको मेलाको रौनक श्रद्धालु भक्तजनलाई निकै मनमोहन लागेको प्रतिक्रिया दिएका छन्।
बोकाको भाउ बढ्यो
वीरगंज मेलामा अहिले बलिदानको लागि बोकाको खरीद बिक्री पनि भइरहेको छ। हरेक वर्ष कम्तिमा दुई हजार बोका बिक्री हुने यसपालि महँगीको कारणले करीब १५ सयभन्दा बढी मात्र बोका बिक्री हुने व्यवसायीहरूले बताएका छन्। घण्टाघर नजीकको टाङ्गा स्टेन्ड नजिकै बारा, पर्सा र बिहारबाट दर्जनौं व्यक्ति दर्जनौं बोका लिएर आएका छन्। ५ हजारदेखि २५ हजारसम्म बोका बिक्री भइरहेको देखिएको छ।
जिउँदो बोकाको किलोको साढे ६ सय रूपैयाँको हिसाबले बोकाको दाम लागिरहेको व्यवसायीको भनाइ छ। जुन पोहोर साढे ५ सय किलोको दरमा बिक्री भएको थियो।