
काठमाडौंः नेपाल आयल निगमले दशैं बिदामा पेट्रोलियम पदार्थ अभाव हुन नदिन डिपो खुला राखेको छ। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दसैंको बिदामा १३ वटा डिपोहरू समेत खुला राखेको हो।
निगमका प्रवक्ता विनितमणी उपाध्यायका अनुसार दसैंका बेलामा पनि निगमका १३ वटा डिपोहरु खुल्ला छन्। उनले पम्पले मागे अनुसार पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको जानकारी दिए।
'तेल अभाव नहोस् भनेर हामीले दसैं विदामा समेत डिपो खुला राखेका छौं। दसैं विदा सुरु भएपछि खपत कम हुन्छ। तर हामीले माग अनुसार पम्पलाई तेल दिइरहेका छौं', उनले भने।
उनका अनुसार प्रदेश १ को विराटनगर र मधेस प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१ गते डिपो खुला हुनेछ। यसैगरी वाग्मतीको थानकोट र गण्डकीको पोखरामा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ। साथै लुम्बिनीको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुने उपाध्यायले बताए।